रिपोर्टर्स नेपाल, १४ जेठ । सगरमाथाको उचाई नाप्न उक्लिएको चिनियाँ टोली सगरमाथाको चुचुरोमा पुगेको छ । आठ सदस्यीय टोली बुधबार विहान चिनियाँ समय अनुसार ११ बजे चुचुरोमा पुगेको हो ।
चिनियाँ सञ्चारमाध्यमले चिनियाँ सर्भे टोलीले सफलतापूर्वक आरोहण गरेको जनाएको छ । लकडाउनका कारण नेपालले सगरमाथा चढ्न रोक लगाएको समयमा चिनियाँ टोली चुचुरोमा पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।
चीनले सगरमाथाको उचाई नाप्न चिनियाँ बिडु नेभिगेशन स्याटलाइन सिस्टम बीडिएसको प्रयोग गर्ने जनाइएको छ । नक्शांकनको सबै साधन चीनले आफै उत्पादन गरेको जनाएको छ ।
चीनले सगरमाथाको उचाई कति हो भनी केही महिनामै सार्वजनिक गर्ने भएको छ । उसले यसअघि आफ्नो राष्ट्रिय टेलिभिजनमार्फत् सगरमाथा आफ्नो हो भनी प्रचार गरेको थियो । पछि सच्याएर नेपालसँगको सीमामा पर्ने भनी उल्लेख गरेको छ । यसलाई चीनको सगरमाथाको चुचुरोमा आफ्नो पनि दाबीका रुपमा बुझ्न थालिएको छ । चीनले सगरमाथाको उचाई नेपालसँग संयुक्त रुपमा सावंजनिक गर्ने तयारी गरेको छ । यसलाई पनि निकै चासो र अर्थपूर्ण रुपमा हेरिएको छ ।
–एजेन्सीको सहयोगमा Photo Source: Xinhua