रुकुम, १४ जेठ । रुकुम पश्चिमको सोती घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आज अपरान्ह सशस्त्र प्रहरीको गोदाखोरले लोकेन्द्र सुनारको शव फेला पारी नदीबाट झिकेको हो ।
स्थानीयले खबर गरेपछि बुधबार दिउँसो शव झिक्दा भेरी नगरपालिका ११ का सुनारको शव पुष्टि भएको हो । शव भेरी नगरपालिकाको उदुको किनारमा भेटिएको थियो ।
यसअघि तीनजनाको शव फेला पारिसकिएको छ । जसमध्ये भेरी नगरपालिकाका नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनाको शव फेला परिसकेको छ । अब भेरी नगरपालिकाका गोविन्द शाही र सन्दीप विकको खोजी भइरहेको छ ।
यसैगरी सोती घटनाका पीडित पक्षले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न भएका भनिएका ८ जना फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामा चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष समेत छन् । घटनामा सिंगो गाउँ नै मुछिएको छ । घटनासँग सम्बन्धित १७ वर्षीया युवती र उनका परिवारका सदस्य समेत पक्राउ परेका छन् ।
१० जेठको शनिबार प्रेमिकालाई बिहे गरी ल्याउने भन्दै घरमै पुगेका नवराज विकसहितको समुहलाई चौरजहारी ८ का गाउँलेले लखेटेर कुटेपछि भेरीमा हामफालेका थिए । प्रहरीको प्रराम्भिक अनुसन्धानबाट भेरीमा हामफालेकालाई ढुंगा वर्षाउन थालेपछि छ जना नदीमा वेपत्ता भएका थिए । ३ जनाको शव फेला परेपछि ३ जना अझै भेटिएका छैनन् । सँगै गएका केही व्यक्तिले नदी तरेर ज्यान जोगाएका थिए ।
पक्राउ परेकाहरुः चौरजहारी ८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित स्थानीय डिल्ली मल्ल, तुलबहादुर मल्ल, प्रेमबहादुर ठकुरी, वीरबहादुर मल्ल, प्रकाश मल्ल, सन्तोष मल्ल, मोहन पुन मगर, रमेशबहादुर मल्ल, मानबहादुर मल्ल, टोमबहादुर मल्ल र १७ वर्षीया किशोरी
मृतकः जाजरकोट भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र ११ का लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका १ का टीकाराम नेपाली
वेपत्ताः भेरी नगरपालिका ११ का गोविन्द शाही र वडा ४ का सञ्जु विक
–Photo Source: Facebook