रिपोर्टर्स नेपाल, १७ जेठ । न त औषधी बनेको छ न त खोप नै । कोरोना भाइरस संक्रमितमध्ये २ प्रतिशतको मृत्यु हुने सम्भावना रहेपनि विश्व नै महामारीको त्रासमा छ । यसले २०२० महामारीसँग संघर्षमै बित्ने देखिदैछ ।
विश्व नै कोरोना भाइरसको महामारीमा हुँदा स्थिति तत्काल सामान्य भइनहाल्ने देखिएको छ । २०२० भित्रै खोपको विकास भई मानव जगत सामान्य अवस्थामा फर्कने आशा राखिएको । १५ मे मा विश्व स्वास्थ्य संगठनको रिपोर्ट अनुसार सँसारभर १०८ कम्पनिले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा काम गरिरहेका छन् । जसमध्ये अमेरिका, चीन, भारत, रुस, इजरायल, थाइल्यान्ड, अष्ट्रेलिया, जापानलगायत देशका कम्पनि छन् । कतिपयले संयुक्त रुपमा भ्याक्सिनको विकास गरिरहेका छन् ।
विश्वभर कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासको प्रतिष्पर्धामा अरबौं डलर खर्च भइरहेको छ । भ्याक्सिन विकासका जानकार वैज्ञानिकहरु अहोरात्र खटिइरहेका छन् । जसले सकारात्मक सम्भावनाहरु देखाइरहेको छ ।
अमेरिकामा मोर्डना कम्पनिले गरिरहेको परीक्षणले नतिजा दिने देखाउँदैछ । प्रारम्भिक परिणाम अनुसार कोभिड १९ को परीक्षणको भ्याक्सिनले सकारात्मक नतिजा दिएको हो ।
अमेरिकाको बायोटेक कम्पनि मोर्डनाले त्यहाँको नेस्नल इन्स्टिच्युट अफ हेल्थसँग मिलेर कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको छ । भविष्यमा अध्ययन राम्ररी बढेमा सन् २०२१ को जनवरी अगावै भ्याक्सिन सार्वजनिक रुपमा उपलब्ध हुनेछ । यसको लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । त्यस अगाडि भ्याक्सिनको सबै चरणको परीक्षण सफल हुनुपर्नेछ ।
अब मोर्डनाले दोस्रो चरणको परीक्षण शुरु गर्ने छ । तेस्रो चरणको परीक्षण जुलाईमा हुनेछ । जसमा हजारौं मानिसहरुमा परीक्षण हुनेछ । कोभिड १९ रोकथाममा सफलता हासिल हुनुका साथै मानिसको स्वास्थ्यलाई नकारात्मक असर नगरेमा यसको सार्वजनिक प्रयोग शुरु गरिनेछ ।
यसैगरी चीनको सिनोभेक बायोटेक लिमिटेड कोरोनाविरुद्धको खोप विकासको दोस्रो चरणको काम गरिरहेको छ । बेइजिङको डाजिङमा भ्याक्सिन प्लान्ट निर्माण शुरु गरिसकेको छ । सिनोभेकले प्रतिवर्ष १० करोड भ्याक्सिन डज उत्पादन गर्ने क्षमता राख्दछ ।
मे महिनाको पहिलो हप्ता दोस्रो चरणको क्लिनिकल परीक्षणमा सिनोभेक प्रवेश गरिसकेको छ । अब तेस्रो चरणको परीक्षण सँसारभर गर्नेबारे समेत छलफल गर्न लागेको छ । विश्व स्वास्थ्य संगठनसँग मिलेर परीक्षण गर्ने तयार गरेको चिनियाँ पत्रिका ग्लोबल टाइम्सको अनलाइन संस्करणमा भनिएको छ ।
इजरायलले नोभल कोरोनाभाइरसको एन्डिबडी विकासमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ । इजरायलको बायोलोजिकल रिसर्च इन्स्टिच्युटले भाइरस संक्रमितको शरीरको भाइरसलाई आक्रमण गरी निष्कृय पार्ने एन्डिबडी विकास गरेको जनाएको छ । इजरालयका रक्षा मन्त्री नाफटाली बेनेटले यस्तो विकासबारे जानकारी गराएको पीटीआइले उल्लेख छ ।
भ्याक्सिन बनाइरहेको उक्त रिसर्च संस्थाले एन्डिबडी विकास गरेको जनाइएको हो । बेनेटले संस्थाको कामबाट गर्व व्यक्त गर्दै यहुदी दिमागले ठूलो सफलता हासिल गरेको बताएका छन् । भाइरसलाई नष्ट गर्ने क्षमता राख्न सक्ने प्रोटिन पत्ता लागेको समेत भनिएको छ । अनुसन्धानबाट पत्ता लागेको विषयको रिसर्च पेपर छिट्टै प्रकाशित गरिने जनाइएको छ ।
भारतले पनि भ्याक्सिनको विकास गरिरहेको छ । इन्डियन काउन्सिलन अफ मेडिकल रिसर्चले भ्याक्सिनको मानव परीक्षण छ महिना लाग्ने जनाएको छ । काउन्सिल र भारत बायोटेक इन्टरनेशनल लिमिटेड मिलेर संयुक्त रुपमा भ्याक्सिन विकास गरिरहेका छन् ।
अमेरिका अन्य कम्पनिहरुले पनि कोभिड १९ को भ्याक्सिन विकास गरिरहेका छन् । मोर्डनाले यसै वर्षको अन्तसम्म मानव परीक्षण सम्पन्न गरी भ्याक्सिन उत्पादनको योजना बनाइसकेको छ । उसले भ्याक्सिन उत्पादनको प्लान्ट समेत बनाइरहेको छ ।
अमेरिकामा १४ वटा भ्याक्सिन विकासका प्रतिष्पर्धी रहेको रोयटर्सले जनाएको छ । दशक सम्मको रिसर्च योजनासहित भ्याक्सिन विकास गरिरहेका छन् । मोर्डनाका अलावा जोन्सन एन्ड जोन्सन, मर्क एन्ड को पनि भ्याक्सिन विकासमा सक्रिय छन् ।
थाइल्यान्ड पनि भ्याक्सिन विकासमा जुटेको छ । त्यहाँ बाँदरमाथि परीक्षण भइसकेको छ । उसले इन्डोनेशिया, मलेशिया, लाओस, भियतनाम र म्यानमार जस्ता देशका लागि उत्पादन गर्ने योजना बनाएको छ ।
जापानको बायोफारमा एन्गिजले क्लिनिकल परीक्षण जुलाईबाट शुरु गर्ने भएको छ । यो समाचार लगत्तै टोकियामा शेयरमा १९ प्रतिशतले वृद्धि भएको छ ।
भारतमा जिडस काडिलाले दुईवटा कोभिड १९ को भ्याक्सिनमा काम गरिरहेको छ । सेरम इन्स्टिच्युट पुणे, बायोलोजिकल इ भारत बायोटेक, इन्डियन इम्युनोलोजिकल्स र मिनभ्याक्सले भ्याक्सिन विकास गरिरहेका छन् ।
तर, कतिपय वैज्ञानिकहरुले सन् २०२० भित्रै भ्याक्सिन विकास भइसक्नेमा आशंका व्यक्त गरेका छन् । भ्याक्सिन सन् २०२१ को शुरु समय अगावै नआउने अनुमान गरेका छन् ।-एजेन्सीको सहयोगमा Photo Source: Agency