Logo

लकडाउनमा आत्महत्या बढ्यो, विज्ञ भन्छन्–मुख्य कारण आर्थिक संकट



जेठ १९, काठमाण्डौ । कोरोना सङक्रमण रोकथामका लागि मुलुकभर लागू भएको लकडाउन ७० दिन पूरा भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्याका घटना बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको छैन । लकडाउन लम्बिँदै जाँदा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएको छ ।

लकडाउनको अवधिभरको तथ्याङकलाई मात्रै हेर्ने हो भने पनि विगतको सामान्य अवस्थामा भन्दा यो बेला आत्महत्याका घटना निकै बढेको देखिएको छ । चैत ११ गते देखि जेठ १० गते सम्म प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ९ सय ८२ जनाले आत्महत्या गरेका छन् । लकडाउनको सुरुवाती दिनमा आत्महत्या दर केही घटेको थियो ।

फागुन महिनामा मात्र ४ सय ११ जनाले आत्मा हत्या गरेको प्रहरीको तथ्याङमा उल्लेख छ । त्यसको तुलनामा चैत ११ गतेको लकडाउन सुरु भएदेखि आत्माहत्याको संख्या बढेको छ । लकडाउन सुरु भएका यताको तथ्याङलाई हेर्ने हो भने दैनिक १४ जनासम्मले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता निरज बहादर शाही बताउँछन ।

आर्थिक वर्ष २०७६–७७ को सुरुवातीको आठ महिनामा औसत दिनमा १० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङले देखाएको छ । तर लकडाउनका बेला दैनिक आत्महत्या गर्नेको संख्या बढेर १५ पुगेको छ ।

लकडाउनको अवधिमा आत्महत्या गर्नेमा प्रदेश नं १ मा १६६, प्रदेश २ मा १३३, बागमती प्रदेशमा १४२, गण्डकी प्रदेशमा ११६, प्रदेश नं ५ मा २२५, सुदुरपश्मिमा प्रदेशमा १००, उपत्यकाका ४६, जना गरी नेपाल भरमा ९८२ रहेका छन् । सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गरेका छन । यसरी आत्महत्या गर्नुमा पछिल्लो समय सबै खालका मानसिक तनाव मुख्या कारण मानिएको छ ।

कोरोना भाइरससँगै जीवन कसरी चलाउने भन्ने डर, त्रास, रोजगारी गुम्नु जस्ता कारणले आत्महत्या बढेको विज्ञहरुको तर्क छ । विभिन्न कारणले आर्थिक संकट विकराल बन्दै जाँदा मानिसमा नैराश्यता उत्पन्न हुने गरेकोले आत्महत्या गर्नेको संख्या बढेको मनोशास्त्र डा.सुमनप्रसाद अधिकारी बताउँछन ।

आत्महत्याको तथ्याङकलाई हेर्दा विष खाएर, हाम्फालेर र झुन्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिन्छ । यसलाई रोक्नको लागि आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण रहेको समेत मनोचिकित्सकहरुको भनाइ छ ।

नेपालमा आत्महत्याको घटनालाई न्यूनिकरणको लागि सामान्यतया आत्महत्याको लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित मनोवैज्ञानिक परामर्श दिनुपर्ने, लकडाउनको शैलीलाई परिर्वतन गरी आवश्यक सुरक्षा अपनाएर हिडडुल गर्न दिनुपर्ने लगायतका उपाय समेत सुझाएका छन ।



प्रतिक्रिया दिनुहोस्