काठमाडौं, जेठ २० । नापी विभागले लिम्पियाधुरा, कालापानी तथा लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा भित्तामा राख्न सोमबार सर्वोच्च अदालत पठाएको छ । सर्वोच्च अदालतको भित्तामा राख्नका लागि पाँच थान नयाँ नेपालको नक्सा विभागले न्यायालयमा पठाएको हो ।
सो नक्सालाई सोमबार नै भित्तामा टाँसिएको छ । सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार पाँचवटा नक्सामध्ये एउटा प्रधानन्यायाधीशको कार्यकक्षमा, अर्को मुख्य रजिस्ट्रारको कोठामा टाँसिएको छ । बाँकी तीनवटा अन्य कोठामा टाँसिने जनाइएको छ ।
यसअघि नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटिएको थिएन । ती तीन क्षेत्रबाहेकका नक्सा वर्षौंदेखि नेपालका विभिन्न कार्यालयमा टाँसिँदै आएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।