Logo

महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ



काठमाडौँ, २२ जेठ । कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ ।

बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन् । एक जना आरडिटी पोजेटिभलाई आइसोलेसनमा राखिएको छ । मङ्गलबारदेखि कोरोना सङ्क्रमितको उपचार शुरु गरिएको अस्पतालमा कैलालीको गौरी गङ्गा नगरपालिकाका सात जनालाई बुधबार मात्रै उपचारका लागि भर्ना गरिएको छ । आठ कोरोना सङ्क्रमित कञ्चनपुरका रहेका छन् । कारोना सङ्क्रमित सबै जना भारतबाट फर्केका व्यक्ति हुन् ।

कैलालीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राख्नका लागि ठाउँ अभाव भएपछि उनीहरुलाई महाकाली अस्पतालमा भर्ना गरिएको अस्पतालका डा. सरोज आर्चायले बताएका छन् । उनका अनुसार अस्पतालमा कोरोना शङ्कास्पद १६ बिरामीलाई समेत राखिएको छ । कोरोनाका बिरामीलाई उपचारका लागि सेफर अस्पतालमा राख्ने तयारी भइरहेको छ । डा. आर्चायले भने, “पिसीआर परीक्षणको नतिजा आउन ढिलाइ हुँदा बिरामीलाई राख्न समस्या भएको छ ।”

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको लगानीमा निर्माण गरिएको ५० श्ययाको अस्पताल सञ्चालनमा आउन ढिलाइ हुँदा दासमेत समस्या भएको छ । महाकाली अस्पतालको सघन उपचारकक्षसमेत भेन्टिलेटरको अभावमा सञ्चालनमा छैन । भेन्टिलेटरका लागि तीन फार्मले बोलपत्र हालेकामा कसैको पनि स्वीकृत भएको छैन । सुदूरपश्चिम प्रदेशमा १४ आइसीयू वार्डमा आठ मात्रै भेन्टिलेटर छन् । (रासस)



प्रतिक्रिया दिनुहोस्