काठमाडौँ, २७ जेठ । पूर्वी तराईमा जेठ महिनामा सधैँझैँ गर्मी छैन बरु पानी परेपछि चिसोको अनुभव यहाँका बासिन्दाको छ ।
बन्दाबन्दीले सवारी साधनको चाप नहुँदा र दैनिकजसो भइरहेको वर्षाका कारण पनि तापमान नबढेको जानकारहरूको भनाइ छ । धरानमा रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयको तथ्याङ्कले समेत विगत वर्षहरूको तुलनामा यस वर्ष तराईको तपक्रम कम भएको देखाउँछ ।
सो कार्यालयले मापन गरेको सुनसरी जिल्लाको धरानको तपाक्रमको तथ्याङ्कले यही कुराको पुष्टि गर्छ । गत वर्षहरूभन्दा यो वर्ष ताममान न्यून देखिएको छ । दुई वर्षअघि २०७५ जेठ २५ गते अधिकतम तापक्रम ३६.३ र २०७६ जेठ २५ गते ३७.७ डिग्री सेल्सियस अद्यावधिक गरिएकोमा यो वर्षको जेठ २५ गते ३३.५ डिग्री सेल्सियसमा सीमित रहेको छ ।
उक्त स्थानमा अघिल्ला दुई वर्षको तुलनामा यो वर्षको जेठ २० देखि २५ सम्मको अधिकतम औसत तापक्रम पनि कम रहेको उक्त कार्यालयले जनाएको छ । २०७५ साल जेठ २०–२५ को अवधिमा धरानको औसत अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस र २०७६ को सोही अवधिमा ३७.७ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।
२०७७ सालको जेठको सोही अवधिमा औसत अधिकतम तापक्रम ३०.४ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार विराटनगरको तापक्रममा भने अघिल्लो एक वर्षको तुलनामा पछिल्ला दुई वर्षमा नै तापक्रम केही कम देखिएको छ ।
२०७५ को जेठ २५ गतेसम्ममा विराटनगरको तापक्रम ३७.४ डिग्री सेल्सियस पुगेकोमा त्यस यताको दुई वर्षको जेठ महिनाको सोही अवधिमा क्रमशः ३४.५ र ३५ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । (गोरखापत्रबाट)