काठमाडौं, २८ जेठ । नेपालको प्रतिनिधिसभाले नयाँ नक्शासहितको निशानछाप पारित गरेको खबर भारतीय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन एवं प्रसारण गरेका छन् । निशान छापसम्बन्धी संविधान संशोधनको विधयेक तल्लो संसदले पारित गरेको खबर प्रकाशन गरेका हुन् ।
टाइम्स अफ इन्डियाले संविधान संशोधन तल्लो संसदले पारित गरेको र माथिल्लो संसदले पारित गर्न बाँकी रहेको उल्लेख गरेको छ । विधयेक सर्वसम्मतले पारित भएपनि वैधानिकता पाउन दुवै सदनले दुई तिहाईका साथ पारित गर्नुपर्ने उल्लेख गरेको छ । निर्णायक मतदान कम्तिमा तीन दिन लाग्ने लेखेको छ । विधयेकबारे सुझाव पेश गर्ने समय ७२ घन्टा रहेकोले निर्णायक मतदान तीन दिन लाग्न भनिएको छ ।
नेपालले सिमा विवादबारे नोभेम्बर महिनामै विदेश सचिवस्तरीय वार्ताको प्रयास गरेपनि भारतीय पक्षबाट कुनै जवाफ नगएको समेत टाइम्स अफ इन्डियाले लेखेको छ । नेपालले भिडियो कलबाट भएपनि वार्ता खोजेको उल्लेख छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले नेपालसँग सिमा विवादबारे वार्ता बेवास्ता गरेको तर चीनसँग भने वार्ता गर्दा अचम्मित भएको अभिव्यक्ति समेत उल्लेख गरेको छ ।
द ट्रिबुनले पनि नेपालको संसदले सर्वसम्मतले नयाँ नक्शासहितको निशान छाप परिवर्तनको संविधान संशोधन पारित गरेको लेखेको छ । तथापि नेपालले भारतसँग वार्ताबाट समस्या समाधान गरिने धारणा सार्वजनिक गरेको उल्लेख छ । डिएनए इन्डियाले पनि नेपालको तल्लो सदनले विधयेक पारित गरेको खबर प्रकाशन गरेको छ ।