Logo

जातीय अहङ्कारलाई समाप्त नगरी दलित वर्गले मुक्ति पाउँदैनन् : चित्रबहादुर केसी



काठमाडौं २८ जेठ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले दलितको मु्िक्तका लागि दलितले नै लड्नुपर्ने र यो साँस्कृतिक आन्दोलनको निर्णायक पनि दलित नै हुनुपर्ने बताएका छन् । रुकम घट्नाको विषयलाई लिएर संयुक्त राजनीतिक दलित संघर्ष समितिले माईतिघर मण्डलामा लगातार गरिएको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै केसीले रुकुम सोती घट्नाले पीडामा परेका दलित समूदायहरुले गरेको यो आन्दोलनको निर्णायक पनि दलित नै हुनुपर्ने बताएका हुन् ।

केसीले जातीय दमन अहङ्कार हो, कानुन, विधान, ऐन जस्तोसुकै बनेपनि जबसम्म जातीय अहंकार समाप्त पार्न सकिदैन तबसम्म दलित समूदायहरुले मुक्ति नपाउने ठोकुवा गरेका हुन् ।अध्यक्ष केसीले भने–’सरकारले बनाएको संसदीय छानवीन समिति जनताको आक्रोशलाई मथ्थर पार्न हो, त्यो समितिले न्याय दिँदैन यो जघन्य अपराध गर्नेहरुलाई बचाउने प्रयास हो त्यो प्रयासलाई तुहाईदिन्छन् तपाईहरु सजग रहनुपर्छ ।’

आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाली काँग्रेस केन्द्रीय सदस्य एन.पी. साउदले दलितहरुलाई अगाडि सारेर सत्तामा बस्नेहरु अहिले क्यामेराको अगाडि मुख देखाउन डराईरहेको आरोप लगाए । रुकुम घटना राजनीतिक हिसाबले मात्र न्याय पाईँदैन, सूर्यजस्तै छर्लंग छ, त्यो घटना जातीय विभेदका कारण भएको स्पष्ट पारे ।

उनले भने, यो मानवप्रतिको जघन्य अपराध हो, तर सरकारमा रहेका आफूलाई सर्वहारा वर्गका नेता भन्ने कम्युष्टहरु अहिलेसम्म बोल्न सकेका छैनन् । कम्युनिष्टहरु डराउँदैछन्, हिचकिचाउँदै छन् र यो छुवाछूत र सामाजिक विभेदको घटनालाई ढाकछोप गर्न लागेका छन् साउदको आरोप थियो ।
साउदले भने,’सत्ता, शक्ति र तागतको आधारमा सोती घट्नालाई तुहाउन खोजिन्छ भने नेपाली काँग्रेसले पूर्वदेखि पश्चिमसम्मका दलितहरुलाई समेटेर काठमाडौंमा परेड खेलाउँछ ।’

त्रिभूवन विश्वविद्यालय मानव शास्त्र केन्द्रीय विभागका प्रमुख डा. डम्बर चेम्जोङले भेद्भावपूर्ण चिन्तनबाट घटाईएको घट्नाको न्याय सिभिलवार विना नपाईने ठोकुवा गरे ।

साझा पार्टीका केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारले कानुन बनाएरै अपमानितहरुको दर्जामा राखिएको ६५ लाख समूदायहरु मान्छेबाट मान्छे बन्न अझ पनि सड्कमा छौं भन्दै राजतन्त्र समाप्त भयो तर जाततन्त्रले राज गरेको कुरा किशोर नेपाल र जनार्दन शर्मा जस्ताले पुष्टि गरेको आरोप लगाए ।

न्यायका लागि आन्दोलनमा उत्रिएका दलित समुदायलार्ई वैज्ञानिक समाजवादी पार्टी कि केन्द्रीय सदस्य धनकुमारी सुनारले पनि सम्बोधन गरेकी थिईन् । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्