तम्घास, २९ जेठ : गुल्मीमा मानसिक सन्तुलन बिग्रिएकी एक महिलाको उपचारार्थ युट्युुबको माध्यमबाट आर्थिक सङ्कलन शुरु गरिएको छ ।
मालिका गाउँपालिका वडा नं ७ घमिर टुनिखोलाकी ३८ वर्षीया कमला सुनारको उपचारार्थ युट्युबका माध्यमबाट आर्थिक सङ्कलन थालिएको हो । उहाँ विगत दुई वर्षदेखि मानसिक रोगी हुनुहुन्छ ।
रोग लागेदेखि नै औषधि सेवन थाले पनि रकम अभावले अहिले औषधिसमेत ल्याउन सक्नुभएको छैन । नौ महिनायता औषधिकोअ अभाव रहेको जनाइएको छ । हाल उहाँलाई दाम्लोमा बाँधेर राखिएको जनाइएको छ । युट्युब सञ्चालक सुमन पन्थीले उहाँको दर्दनाक भिडियो युट्युबमा राखेर आर्थिक सहयोगका लागि आह्वान गर्नुभएको छ । यसरी भिडियो राखेको ६ दिनमै उहाँलाई रु ५० हजार सहयोग जुटेको उहाँले बताउनुभयो ।
सोही आर्थिक सहयोगको सङ्कलित रकमले कमलाका श्रीमान्ले थप उपचारका लागि भैरहवा लैजाने तयारी गर्नुभएको छ । उहाँको उपचारका लागि रु एक लाख लाग्ने अनुमान गरिएको छ । तर अहिले उठेको रकमबाट उपचार गर्ने र सहयोगको प्रतिबद्धता आएको रकमबाट थप औषधि किन्ने परिवारको योजना छ ।रासस File Photo