काठमाडौं, ३१ जेठ । नेपालको नयाँ नक्सालाई निशान छापमा प्रतिबिम्बित गर्ने गरी प्रतिनिधिसभाले आज संविधान संशोधनको निर्णय लिने भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने देशका सबै दलहरुले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेसँगै निशाना छाप प्रतिनिधिसभाबाट सर्वसम्मतबाट पारित गर्ने निश्चितप्रायः छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशान छापमा प्रतिबिम्बित गर्नेगरी प्रस्तुत विधेयक प्रतिनिधिसभाबाट २७ जेठमा सर्वसम्मतबाट स्वीकृत भइसकेको छ । विधयेक स्वीकृतीसँगै संशोधनका लागि प्रक्रिया अगाडि बढेको हो । प्रतिनिधिसभाको कम्तिमा दुई तिहाई सदस्यको मतका आधारमा विधयेक पारित हुने संंंवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभाले पनि पारित गरेपछि विधेयक टुंगोमा पुग्ने व्यवस्था छ ।
विधयेकको पक्षमा राष्ट्रिय समाजवादी पार्टीले पनि मतदान गर्र्र्ने निर्णय गरेको छ । हिजो बसेको राजपा पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन सरकारले प्रतिनिधिसभामा विधेयक दर्ता गराएको थियो ।
यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आजको दिनलाई नेपालको इतिहासको महत्वपूर्ण क्षण भनेका छन् । उनले हिजो एक वक्तव्य जारी गरी नेपाली जनताले लामो समयदेखि प्रतिक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिक रुपमा स्वागत गर्न र सिंगो राष्ट्र एक रहेको यथार्थलाई पुनः पुष्टि गर्न आग्रह गरेका छन् ।