काठमाडौं, ३१ जेठ । भारतले नेपालमाथि सिमा मामलामा वार्ताका लागि हालैको समझदारी उल्लंघन गरेको आरोप लगाएको छ । उसले वार्ताका लागि वातावरण बनाउन नेपालका तर्फबाट तत्परता हुनुपर्ने पुरानै अडान दोहोर्याएको छ ।
आज नेपालको संसदले नयाँ नक्शासहितको निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक पारित गरेपछि भारतका विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तले यसअघि नै आफूहरुको धारणा स्पष्ट रुपमा राखिसकेको बताएका छन् । उनले मिडियाको चासोबारे प्रतिक्रिया दिदै नेपालको सिमाबारे दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको दाबी गरेका छन् । उनले भनेका छन्, ‘यसले सिमा मामलामा वार्ता गर्ने हालैको सहमतिको समेत उल्लंघन गरेको छ ।’
यसैगरी, भारतले नेपालसँग संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्नु पूर्व नै वार्ताको प्रस्ताव गरेको खुलासा भएको छ । विदेश मन्त्रालय स्रोत उल्लेख गर्दै हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले भारतबाट वार्ताको प्रस्ताव भएको तर त्यसप्रति प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले अनिच्छा प्रकट गरेको भनेको छ । भारतले विदेश सचिवस्तरीय वार्ताको प्रस्ताव गरेको समाचारमा उल्लेख छ ।