Logo

कोरोना प्रतिरोधी औषधिको प्रयोग



काठमाडौँ, ३२ जेठ । कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ ।

नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको सहयोगमा औषधि निःशुल्क वितरण गर्न सुरु गरिएको महासङ्घका महासचिव कपिल ज्ञवालीले जानकारी दिएका छन् ।

ज्ञवालीका अनुसार शनिबार अस्पतालका सञ्चालक माधव थापाले महासङ्घका अध्यक्ष भुवन कार्कीलाई औषधि हस्तान्तरण गरेका छन् । महासङ्घले इच्छुक क्रियाशील पत्रकारहरूलाई यस्तो औषधि वितरण गर्नेछ ।

थप ४१ सङ्क्रमित
भेरी अस्पताल नेपालगञ्जमा शनिबार गरिएको परीक्षणमा ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाँकेका १८, बर्दियाका ६ र रोल्पाका १७ जना गरी ४१ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका १५ र खजुरा गाउँपालिकाका तीनमा सङ्क्रमण देखिएको छ । यसैगरी, बर्दियाको बारबर्दियाका ६ र रोल्पाको सुनील स्मृति गाउँपालिकाका १२ र बमरुक गाउँपालिकाका पाँचजनामा सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्