काठमाडौं, ३२ जेठ । विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदबाट नेपालको नयाँ नक्शा समेटेर निशान छाप पारित गर्न ओली सरकार वाध्य भएको निष्कर्ष निकालेका छन् । उनले देशको भुमि प्रत्यक्ष स्वामित्वमा लिन आवश्यक रहेको समेत बताएका छन् ।
आइतबार प्रेस वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्शा संसदबाट पास गर्न वाध्य भएको छ ।’
हिजोको कदमलाई देशको हितमा एक कदम अगाडि बढेको भनेका छन् । उनले यथाशिघ्र कुटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भुभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
विप्लवले अतिक्रमणको डटेर सामना गरिने समेत उल्लेख गरेका छन् । उनले जनताको जनजागरणलाई मत्थर पार्ने कार्यक्रमा सिमित नरहन भनेका छन् ।