Logo

जनतालाई सचेत गराउन प्रहरीले प्लेकार्ड बोक्नुपर्ने ? (तस्विर)



असार १, काठमाण्डौ । पछिल्ला दिनमा सडकमा छेउछाउमा ट्राफिक प्रहरीहरु जनतालाई माक्स लगाउन आग्रह गरिएको प्लेकार्ड लिएर उभिइरहेको देखिन्छ । अनि सामाजिक दुरी कायम गर्नेदेखि मोटरसाइकलमा एकजना यात्रा गर्नुहोला भनेर लेखेको कागज बोकेर उनीहरु घण्टौँसम्म सडक छेउमा उभिएको पाइन्छ ।

हो, काठमाडौंमा ट्राफिक प्रहरीहरु ट्राफिक व्यवस्थाननसंगै कोरोना भाइरसको संक्रमणबारे सचेतना समेत फैलाइरहेका छन् । हातमा कोरोनाबाट बच्ने उपायसहितक प्लेकार्ड बोकेर उनीहरु सेवामा खटिरहेका छन् । ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएका प्रहरी नागरिकलाई चेतना जगाउन पनि अघी सरेको देख्दा सर्वसाधारण पनि खुशी छन् । तर के सबैलाई जानकारी भइसकेको कुरा पालना गर्न पनि ट्राफिक प्रहरी सडक छेउमा प्ले कार्ड लिएर उभिनुपर्ने हो ?

काठमाडौं उपत्यकामा १५ सय ४५ जनाको संख्यामा खटिएका प्रहरीले उपत्यकाका १ सय ५२ स्थानमा आफनो कामसंगै कोरोनाबारे सचेतना समेत दिइरहेका छन् । उनीहरु दिनरात घाम पानी नभनी बिभिन्न सूचना लेखिएका प्लेकार्ड बोकेर सेवा दिइरहेका छन् ।

जथाभावी हिंडडुल नगरौ, जोर बिजोर नियम पालना गरौ, सधै मास्क लगाएर यात्रा गरौ, सवारी साधनमा सामाजिक दुरी कायम गरौ लगायतका सूचना भएका प्लेकार्ड उनीहरुले बोकेका छन । नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन वृद्धी भईरहेको बेला सुरक्षाकर्मी आफैलाई जोखिम त छ नै यसका बावजुत आफनो कर्तव्य ठानी उनीहरुलाई नागरिकलाई सचेत गराइरहेका छन् ।

ट्राफिक व्यवस्थापनसगै कोरोना संक्रमणबारे सचेतना फैलाउँदा कुनै बोझ नभएको बरु झन उत्साह थपिएको प्रहरी जवान निर्मला चौधरी बताउँछिन् ।

कामका दौरान कतिपयले गाली र बेइजती गर्न खोजेपनि अधिकांश सर्वसाधारणले भने ट्राफिक प्रहरीको सेवाप्रति प्रसन्नता व्यक्त गरेका छन् । उनीहरुको कामले झन सहज भएको काठमाण्डौमा भेटिएका संजोकराज गिरी र राजेन्द्र पाण्डेले बताए ।

यदी नागरिकले सहजै कोरोनाको जोखिम कम गर्न अपनाउनुपर्ने कुरा पालना गरिदिएको भए प्रहरीले सिकाउनुपर्ने थिएन । जे होस्, नागरिकको चिन्ता लिएर ट्राफिक प्रहरीले गरेको यो कामको प्रशंसा गर्नैपर्छ ।

लकडाउन खुकुलो भएसंगै सडकमा चाप बढेकाबेला आम नागरिक नै जिम्मेवार हुन जरुरी छ । अन्यथा, सानो लापरवाहीले सडकमा मात्र दुर्घटना हुने होइन महामारीले समेत सर्वनाश नगर्ला भन्न सकिन्न ।



प्रतिक्रिया दिनुहोस्