एजेन्सी/लण्डन, २ असार । इङ्ल्याण्डमा सार्वजनिक यातायातमा हिँडडुल गर्दा अनिवार्य रुपमा मास्क लाउनुपर्ने (अनुहार ढाक्नुपर्ने) नियम लागू हुँदैछ।
यस्तै, अस्पतालका कर्मचारीले, बहिरंगका बिरामीहरुले र अस्पतालमा बिरामी भेट्न आउनेहरुले पनि मास्क लाउनु पर्नेछ । विश्व स्वास्थ्य संगठनको निर्देशन अनुसार सामाजिक दुरी कायम गर्न सम्भव नहुने स्थानहरुमा मास्क लगाउनु उचित हुन्छ ।
सार्वजनिक यातायात
बस, रेल, फेरी, हवाइजहाजबाट इङल्याण्डमा यात्रा गर्दा कोरोना भाइरस संक्रमणको जोखिम घटाउन मुख ढाक्नैपर्ने हुन्छ । सरकारको नीति अनुसार ११ वर्षमुनीका बालबालिका, अपाङ्गता भएका मानिसहरु, श्वास फेर्न गाह्रो हुुनेहरु र ओठबाट कुराकानी गर्ने मानिससित हिँड्नेहरुलाई यो नियम लागूहुने छैन ।
मुख ढाक्नुपर्ने नियम यात्रा गर्दा मात्र लागू हुने बताइएको छ तर पर्खँदा भने मुख ढाक्नैपर्छ भन्ने छैन । मास्क नलाएको व्यक्तिलाई सार्वजनिक यातायातमा चढ्न नदिइने र जरिवाना समेत हुनसक्ने बताइएको छ । यस्तै क्रुजमा यात्रा गर्दा, ट्याक्सी वा भाडाका सवारीसाधनमा यात्रा गर्दा वा उबरमा यात्रा गर्दा पनि मास्क लगाउन अनिवार्य गरिएको समाचार वीनेपाली डटकमले प्रकाशित गरेको छ ।