महेश कुमार श्रेष्ठ
मित्र राष्ट्र भारतको सार्क मुलुकहरु लगायत चीनसंगको सम्बन्ध बिग्रनुमा उनिहरुको बिस्तारवादी , हैकमवादी तथा साम्राज्यवादी नीति तथा संकिर्ण सोच-व्यवहारहरुनै प्रमुख कारण हुन भन्दा कसैको दुईमत नहोला।
बिगत देखि बर्तमान सम्म भारतले नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स तथा भूटानमा प्रत्यक्ष-अप्रत्यक्षरुपमा आफ्नो सामरिक शक्तिको आडमा विभिन्न ढंगले सामाजिक, आर्थिक, राजनीतिक , प्राबिधिक तथा भू- भौगोलिक हस्तक्षेप बाट उक्त मुलुकहरुमा आन्तरिक तथा घरेलु अस्थिरताको सृजना गरि आफ्नो प्रभुत्व कायम राख्दै आईरहेको कुरा घामझै छर्लङ्ग रहेको छ।
भारतको अन्य सार्क मुलुकहरुलाई पनि सिक्किम र भूटानको दृष्टिकोणबाट हेर्ने दोषी नजर र कटुतापूर्ण ब्यवहारले गर्दा सार्क मुलुकहरु संगको मित्रवत संबन्धमा तिक्तता र दुश्मनी दीन प्रतिदिन बढ्दै गईरहेको छ। त्यस्तैगरि भारतको पाकिस्तान संगको जन्मजात शत्रुता र चीन जस्तो उदयमान शक्तिसंगको बेला बेलामा हुने गरेका सिमा बिवादको कारण सृजित सैनिक मुठभेडले दक्षिण एसियाली मुलुकहरुमा संत्रास र भयको वातावरण उत्पन्न हुँदै गईरहेको महशुस भएको छ।
हालका दिनहरुमा भारत-चीनवीच भईरहेको बढ्दो सैनिकीकरण एबं हिजो मात्रै पनि सिक्किम भारत र चीनको सिमाक्षेत्र लद्दाकमा भारत र चीनका सैनिकहरुवीचको झडपमा भारतीय सैनिकहरुको ज्यान समेत जानूले यो विवाद झन चर्कोरुपमा बल्झिदै जाने निश्चित छ।
यसप्रकारले भारतले अवका दिनहरुमा आफ्नो सामरिक र आर्थिक बर्चस्वको उन्मादलाई थाति राख्दै नेपाल, पाकिस्तान, चीन लगायत अन्य मुलुकसंगको सीमा विवादलाई राजनीतिक तथा कुटनैतिक बार्ताको माध्यमवाट अविलम्व टुङ्गोलगाई सम्वन्धमा सुधारल्याउनुपर्ने आवश्यक्ता टड्कारो रुपमा देखिएको छ अन्यथा चीनको नेतृत्वमा नेपाल, पाकिस्तान लगायत अन्य सार्क मुलुकहरु एक ढिक्का भई भारतको बिरुद्धमा शसक्त ढंगले चौतर्फि आक्रमण नगर्ला भन्न सकिन्न।