प्रकाश डोटेल –स्याङ्जा, २ असार : कोरोना भाइरस (कोभिड–१९) मा स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ९ का स्थानीय बासिन्दा राम श्रेष्ठले चापाकोट अस्पताललाई पिपिई र नगर क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोरोनाको समयमा अग्रभागमा रहेका नागरिकको सेवामा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लक्षित गरेर समाजसेवि श्रेष्ठले चापाकोट अस्पताललाई १० पिपिई र १ सय थान सर्जिकल माक्स सहयोग गरेका छन् । सहयोग सामाग्री अस्पताल प्रशासनलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं बसोबास गर्दै आएका श्रेष्ठले चापाकोट नगर क्षेत्रका विपन्न ३५ परिवारलाई खाद्यान्न समेत सहयोग गरेका छन् । उनले कोरोना भइरसका कारणले काम बिहीन भएका नगर क्षेत्रका ३५ घरपरिवारलाई ७ सय किलो खाद्यान्न सहयोग गरेका छन् ।
युवा समाजसेवि श्रेष्ठले नगर क्षेत्रका युवा क्लव आमा समूहलाई समेत विभिन्न समयमा नगद जिन्सी सहयोग गर्दै आएका छन् । श्रेष्ठले व्यक्तिगत स्वार्थका लागि सहयोग गर्नुको सट्टा सामाजिक काममा सहयोग गर्ने गरेको बताए ।