Logo

कोरोनाबाट फेरि अर्की महिलाको मृत्यु



सिराज खान, नेपालगञ्ज, ३ असार । नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका-२ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालले जनाएको छ ।

नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेश कनोडियाका अनुसार मृत्यु भएकी महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

उपचार शुरु गरेर जेठ २ गते दिउँसो उनको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको सहनिर्देशक कनोडियाले बताए।

सहनिर्देशक कनोडियाका अनुसार ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना पुष्टि भएको छ ।

यसअघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उहाँ पनि उपचारको लागि जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् ।

कैलाली लम्कीकी महिलाको शव अहिले मेडिकल कलेजको शव गृहमा राखिएको छ । शव व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको पनि अस्पतालले जनाएको छ ।-गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्