काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र अमेरिकी विकाससम्बन्धी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को टुंगो लगाउन सचिवालय र स्थायी कमिटि बैठक डाकिएको छ । शुक्रबार सचिवालय बसेर १० असारमा स्थायी समिति बैठक बस्नेछ । दुवै बैठक एमसीसीको टुंगो लगाउने केन्द्रित हुनेछ ।
एमसीसी विना संशोधन संसदबाट पारित गर्न नहुनेमा सचिवालय, स्थायी कमिटि देखि केन्द्रीय कमिटिसम्मका बहुमत सदस्य रहेका छन् । यसकारण यथास्थितिमा एमसीसी पारित हुन सक्दैन । ओलीले पार्टीबाट नभई संसदबाट एमसीसी पारित गर्ने रणनीति बनाएपनि अन्तत पार्टीकै निर्णय मान्ने गरी तयारी गरेको छ । यसको अर्थ एमसीसी यथास्थितिमा संसदबाट पारित हुन सक्दैन ।
एमसीसीमा ओली विस्तारै पछाडि हट्दै जानुको पछाडि चीनको चासो पनि रहेको छ । एकातर्फ नेकपाका बहुमत सदस्यहरुले एमसीसीलाई इन्डो प्यासिफिक रणनीति अन्र्तगत भन्दै आएका छन् । अर्कोतर्फ चीनले इन्डो प्यासिफिकलाई अमेरिकाले आफ्ना विरुद्ध एशियामा प्रभुत्व जमाउन चालेको रणनीितका रुपमा लिएको छ ।
चीनको विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले इन्डो प्यासिफिक रणनीतिबाट अमेरिकाले एशियामा प्रभुत्व जमाउन खोजेको उल्लेख गरेको छ । उसले एशियामा यो रणनीतिबाट चीनलाई घेरा हाल्न खोजिएको भनेको छ ।
अमेरिकी रणनीतिक परियोजनाहरुमा चीनको चासो निकै देखिएको छ । नेपालमा पनि एमसीसीप्रति चीनको धारणा सकारात्मक छैन । चीनले यस्ता विषयमा चासो नभएको जस्तो गरेपनि अमेरिकी रणनीतिक परियोजनालाई सकेसम्म नेपालमा प्रवेश गर्न नदिने योजना बनाएको छ । यो प्रकट रुपमै देखिदैछ ।
नेपालको कम्युनिस्ट सरकारमा चीनको प्रभाव बढेको विषय बाहिर आउने गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपाल कम्युनिस्ट पार्टीको विशेष सम्बन्ध छ । चिनियाँ कम्युनिस्ट पार्टीका नेता आएर नेकपामा प्रशिक्षण दिएर गएका थिए । नेकपा नेताहरुको चीन ओहोरदोहोर बाक्लो हुँदै आएको छ । यसको असर एमसीसीलाई हेर्ने दृष्टिकोणमा देखिएको छ । नेकपाभित्र एमसीसीलाई पारित गर्न नहुने मत बलियो हुनुमा चिनियाँ प्रभाव पनि कारण हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी पारित गर्ने पक्ष लिएपनि उनले अब पार्टीलाई देखाएर पछि हट्ने रणनीति बनाएका छन् । अमेरिकालाई भन्ने बाटो उनले पाएका छन् । पार्टीमा अल्पमतमा परियो भनेर अमेरिकी पक्षलाई मनाउन सक्ने अवस्था देखिएको छ । वास्तवमा ओलीले चीनलाई खुशी बनाउने चतुर्याई गर्न लागेको चर्चा समेत चलेको छ ।
चीनकै सहयोगमा ओलीको सत्ता हालै जोगिएको जगजाहेर नै छ । चिनियाँ राजदुत होउ यान्छी लकडाउनको बेलामा खुलेआम नेकपा नेताहरुको घर घर पुगिन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन वार्तापछि चिनियाँ राजदुतको दौडाहा भएको थियो । चीनसँग ओलीले देखाएको निकटता र एमसीसीको विषयमा लिइने निर्णयको अन्र्तसम्बन्ध सतहमै देखिनसक्छ । चीनले अमेरिकी रणनीतिलाई रोक्न खोजिरहँदा नेपालको सवालमा ओली त्यसमा सहयोगी बनेमा आश्चर्य नमाने हुन्छ ।
एमसीसीमा पछि हटेर ओलीले दुईवटा फाइदा लिन सक्छन् । पहिलो पार्टीभित्र सम्भावित दुर्घटना टर्ने र चीनलाई खुशी बनाउने । तर, अमेरिका चिढिएमा उनका सामु चुनौती बढ्न सक्ने सम्भावना उत्तिकै छ । भारत चिढिएको अवस्थामा अमेरिका पनि चिढिएमा आउनसक्ने चुनौती उत्तिकै गम्भीर हुनसक्छ ।-File Photo