Logo

कालापानीबाट आफ्नो सेना फर्काउन भारतलाई शर्माको आग्रह



काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता दीनानाथ शर्माले राष्ट्रिय स्वाधीनतामा नेपाली जनता एक ठाउँमा छन् भन्ने सन्देश दिइएको बताएका छन् । राष्ट्रियता र प्रजातन्त्र तथा लोकतन्त्र र गणतन्त्रका लागि नेपालीले लामो लडाइँ लडेको जनाउँदै उनले सबै दलबीचको एकताबाट नै परिवर्तन सम्भव भएको बताए ।

राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनलेयस्तो बताएका हुन् । नेपालले भारतलाई सधैँ असल मित्रका रुपमा हेरिरहेको बताउँदै उनले भने,“मित्रता बजारमा किनेर पाइँदैन, मित्रता भनेको आस्था र विश्वास हो, भारतले नेपाललाई असल मित्र मान्ने हो भने तत्कालीन इष्ट इण्डिया कम्पनीले आक्रमण गरेर लगेको पूर्वी टिष्टा र पश्चिम काँगडासम्म भारतले फिर्ता गर्नुपर्ने हुन्छ ।”

उनले छिटोभन्दा छिटो कालापानीबाट आफ्नो सेना फर्काउन तथा लिपुलेक र लिम्पियाधुरासहितको जमीन फिर्ता गर्न भारतसँग आग्रह गरे । नेपाल–भारत सीमा विवादलाई कूटनीतिक माध्यमबाट टुङ्ग्याउनुपर्ने भनी नेपालले स्पष्ट अडान राखेको जनाउँदै उनले विवाद समाधान हुन नसकेमा अन्तरराष्ट्रिय समुदायसमक्ष कुरा राख्नुपर्ने बताए । राष्ट्रिय हितका विषयमा सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा भएको बताउँदै उनले सहमति र सहकार्यका आधारमा नै राष्ट्रिय सङ्कट समाधान गर्नुपर्नेमा जोड दिए । File Photo



प्रतिक्रिया दिनुहोस्