काठमाडौं, ५ असार । नेपाल कम्युनिस्ट पार्टीभित्र अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पेचिलो बन्दै गएको छ । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रका एकजना हेभिवेटलाई साथमा लिएर एमसीसी संसदबाट पारित गराउन सक्रिय भएका छन् ।
ओलीले यसै हप्ता सचिवालयका प्रभावशाली नेताहरुले एक्ला एक्लै भेटेर एमसीसीमा सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी एमसीसीमा साथ दिन भनेका थिए । उनले त्यसका लागि केही राजनीतिक लेनदेनको प्रस्ताव समेत गरेको बुझिएको छ । तर, प्रचण्डले आफूमात्रको निर्णयले नहुने र पार्टीमा अन्य कमरेडहरु पनि भएकाले औपचारिक निर्णयबाट बढ्नुपर्ने जवाफ दिएका थिए ।
ओलीले पार्टीभन्दा बाहिर गई संसदमार्फत् निर्णय लिने गरी जानेबारे भनेका थिए । तर, प्रचण्डले पार्टी निर्णय अनुसार जानुपर्ने भन्दै अडान लिएका थिए ।
ओलीले केही समय अघि उपाध्यक्ष बामदेव गौतमलाई भेटेका थिए । गौतमलाई राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । त्यसका लागि एमसीसीमा साथ दिन भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ । तर, गौतमले यसलाई ठाडै अस्वीकार गरेका छन् । उनले आफ्नो ओलीसँग अनगिन्ती असहमति रहेको प्रष्ट पारिसकेका छन् । सचिवालयमार्फत् प्रेस सहयोगीलाई आफ्नो असन्तुष्टि सामाजिक सञ्जालमा लेख्न लगाएका थिए ।
वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत मनाउन ओलीले प्रयास नगरेका होइनन् । तर, दुवै नेताहरु पार्टीको निर्णय अनुसार चल्नुपर्ने अडानमा छन् । यसरी माहोल पुरै ओलीको चाहना विपरित विकास भइरहेको छ । नेकपाका हेभिवेटहरु ओलीलाई यथास्थितिमा एमसीसी पास गर्न नदिने पक्षमा छन् । यसले अवस्था जटिल बन्ने संकेतहरु देखिनथालेको छ ।
१० असारमा स्थायी कमिटि बैठक डाकिइसकेको छ । बैठकमा बहुमत सदस्य ओलीको विपक्षमा रहेकाले चुनौती बढ्न सक्छ । एमसीसी यथास्थितिमा पारित गर्न नहुनेमा भारी बहुमत भएकाले ओली अप्ठ्यारोमा छन् । उनी भरसक सचिवालयमा कुनै एक सदस्यलाई तानेर बहुमत बनाउने पक्षमा थिए । इश्वर पोखरेल र महासचिव विष्णु पौडेल आफ्नो पक्षमा रहेको, बादल सरकारमा रहेकाले एकजना अपुग हुँदा माहोल बनाउन खोजिरहेका थिए । तर, ओली सफल भएका छैनन् । तर, उनले प्रयास छाडेका छैनन् ।