काठमाडौं, ६ असार । संसदले अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पारित गर्छ कि गर्दैन अबको दश दिनमा टुंगो लाग्नेछ । यसका लागि नेपाल कम्युनिस्ट पार्टीभित्रको निर्णयमा भर पर्नेछ ।
नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा ध्रुवीकरण भएको छ । नेकपाकै निर्णय निर्णायक हुने पक्का छ । नेकपाभित्र पार्टीको निर्णय एमसीसीको विपक्षमा आउने सम्भावना बढेको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना पार्टी निर्णयबाहिर गएर भएपनि एमसीसी पारित गर्ने रहेको छ ।
एमसीसी पारित गर्न र रोक्न बाह्य शक्ति समेत सक्रिय भएका छन् । अमेरिकी सहयोग भएकाले एमसीसी पारित गराउन नेपालस्थित अमेरिकाका विभिन्न संयन्त्रहरु सक्रिय भएका छन् । त्यसका लागि ठुलै रकमको चलखेल हुनथालेको बुझिएको छ । राजनीतिक दलका नेता देखि प्रोपोगान्डा मच्चाउन मिडियासम्म रकमको चलखेल भएको चर्चा चल्न थालेको छ । नेकपाका एक नेताले पैसाको खेल हुनथालेकाले केही नेताहरु यु टर्न हुनसक्ने बताए । यस्तो अवस्था विस्तारै देखिनसक्ने उनले बताए ।
एमसीसीमा ५५ अर्बको सहयोग रकम रहेको छ । तर, उक्त रकम आउनु अगावै पैसाको वर्षा हुनथालेपछि राजनीतिकवृत्तमा खैलाबैला मच्चिएको छ । यसको पक्ष या विपक्षमा महोल तयार गर्ने दुईतर्फ समुह सक्रिय भएर मोटो रकम खर्च गर्न थालेको छ ।
एमसीसीलाई नेकपाकै प्रभावशाली नेताहरुले सैन्य रणनीतिका रुपमा व्याख्या गरेका छन् । हिजो चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको भिडियो कन्फरेन्समार्फत् भएको गोष्ठीमा समेत योबारे कुरा उठेको थियो । नेकपा अध्यक्ष प्रचण्डले कुनैपनि देशको सैन्य रणनीतिलाई नेपालमा लागू गर्न नदिने बताए । उनको आशय एमसीसी रोक्नेतर्फ थियो ।
चीनले अमेरिकामाथि एशियामा प्रभुत्व जमाउन इन्डो प्यासिफिक रणनीति चालेको आरोप लगाउँदै आएको छ । एमसीसी इन्डो प्यासिफिक अन्र्तगत नभएपछि यसैसँग सम्बन्धित रहेको नेकपाका केही नेताहरुको तर्क छ । चीन कुनै हालतमा अमेरिकी भुमिकालाई विश्वभर कमजोर बनाउन लागिपरेको छ । दक्षिण एशियामा अमेरिकी रणनीतिक योजना रोक्न चीन सक्रिय हुँदै आएको छ । एमसीसी रोक्न पनि चीनले भित्री रुपमा भुमिका खेलिरहेको छ । यसका लागि उसले पनि साम, दाम, दण्ड, भेदको रणनीति प्रयोग गरिरहेको छ ।
एमसीसी सम्झौता संसदबाट पारित गर्न या रोक्न दुवै पक्ष सक्रिय भएका छन् । नेपालस्थित अमेरिकी र चिनियाँ संयन्त्रहरु केही दिनयता निकै सक्रिय भएका छन् । उनीहरु साम, दाम, दण्ड, भेदको रणनीतिका साथ बढेकाले कस्ले बाजी मार्ला भन्ने चासो बढेको छ ।