Logo

अप्टिकल फाइबर नेटवर्क निर्माणको काम आशाअनुरूप हुन सकेन



काठमाडौं, असार ७ । देशैभर ब्रोडब्यान्ड इन्टरनेटको पहुँच विस्तार गर्न आवश्यक पूर्वाधारको ‘मेरुदण्ड’ निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको अप्टिकल फाइबर नेटवर्क निर्माणको काम आशाअनुरूप हुन सकेको छैन ।

करिब दस अर्ब रुपियाँ लगानीमा देशभर अप्टिकल फाइबरको सञ्जाल निर्माण गरेर डिजिटल नेपालको पूर्वाधार बनाउने लक्ष्यसहितको यो परियोजनाअन्तर्गतका कतिपय काम सुरु नै भएका छैनन् । भएका काममा पनि बृहत् प्रगति देखिएको छैन ।

मध्यपहाडी लोकमार्गलाई आधार मानेर पूर्वमा पाँचथरको चिवा भञ्ज्याङ र पश्चिममा दार्चुलाको झुलाघाटसम्म छ हजार २३५ किलोमिटर अप्टिकल फाइबर बिछ्याउनुपर्नेमा अहिलेसम्म २५९ किलोमिटर मात्र बिछ्याइएको छ ।

फाइबर बिछ्याउन पहिलोपटक सम्झौता भएको करिब चार वर्ष पुग्न लाग्दा यही जेठ मसान्तसम्म यति मात्र प्रगति भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणले पहिलोपटक २०७३ असोज १२ गते नेपाल टेलिकमसँग प्याकेज एकअन्तर्गत अप्टिकल फाइबर बिछ्याउने सम्झौता गरेको थियो ।

परियोजनालाई तीनवटा प्याकेजमा विभाजन गर्दै प्रदेशअनुरूप प्राधिकरणले प्रतिस्पर्धाको आधारमा फाइबर बिछ्याउने जिम्मा सेवाप्रदायकलाई नै दिएको थियो । प्याकेज एकअन्तर्गत प्रदेश १, २ र बाग्मती प्रदेश समेटिने गरी पाँचथरको चिवा भञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म दुई हजार ८३ किलोमिटर फाइबर बिछ्याउने जिम्मा नेपाल टेलिकमले पाएको थियो ।

यसमध्ये करिब एक हजार ६६० किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्नुपर्ने र बाँकी विद्युतीय पोलमार्फत विस्तार गर्नेगरी टेलिकमले कार्ययोजना तयार गरेको थियो । यसका लागि प्राधिकरणले चार अर्ब ८७ करोड रुपियाँ टेलिकमलाई उपलब्ध गराउने गरी उक्त सम्झौता भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्