Logo

भारतले वार्ता गर्नै चाहेनः परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौं, असार १३ । सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तासहितको सिमानामा देखिएको समस्या समाधानबारे बारम्बार गरिएको प्रयास भारतीय पक्षबाट स्वीकार नभएको बताएको छ । नेकपा स्थायी कमिटीको शुक्रबारको बैठकमा सीमा समस्या समाधानमा सरकारले गरेको प्रयासबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँग बारम्बार गरिएको वार्ता प्रयास सफल हुन नसकेको बताएका हुन् ।

‘१८१६ मा भएको सुगौली सन्धि हाम्रा लागि सुखद त थिएन तर त्यही सन्धिअनुसार भएको सीमा निर्धारणमा समेत समस्या आयो,’ मन्त्री ज्ञवालीले भने, ‘हामीले वार्ताको माध्यमबाटै समस्या समाधान गरौं भनेर नोभेम्बर, डिसेम्बर र जनवरीमा गरी तीनपटकसम्म पत्र पठायौं तर भारतीय पक्षबाट विभिन्न बहानामा टार्ने काम भयो ।’ उनले नोभेम्बरमा भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नक्सा जारी गरेलगत्तै नेपालले आपत्ति जनाएको र वार्ताका लागि पत्र पठाएको बताए ।

‘कहिले भारतीय राजदूत फेरिँदै छन्, नयाँ आएपछि सीमा समस्या समाधान गरौंला भन्ने, कहिले विदेश सचिव आएपछि हुन्छ भनेर टार्ने काम भयो,’ बैठकमा ज्ञवालीले भने, ‘अहिले कोरोनाको संक्रमणपछि वार्ता गरौंला भन्दैछन् । भारतीय पक्ष सीमा समाधानमा गम्भीर भएको देखिएन ।’ उनले भारतसँगको सीमा समस्या समाधानको उपाय वार्ता नै भएको र त्यसका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएको आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्