बुटवल, असार १४। नेपालमा सलह भित्रिन थालेको हल्ला चलेकै बेला शनिबार एकाबिहानै नेपाल प्रवेश गरेका सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो । शनिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रण गर्न आवश्यक रणनीति तय गरेको छ ।
बैठकमा सहभागी प्रदेश–५ को कृषि विकास निर्देशनालयका प्रमुख देवकोटाका अनुसार शनिबारैदेखि किसानलाई सचेत गराउन प्रचारप्रसार गर्ने निर्णय गरिएको छ । त्यस्तै सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्णय पनि बैठकले गरेको देवकोटाले बताएका छन् ।