Logo

राष्ट्रपति भेट्न दाहाल, खनाल र नेपाल शितलनिवासमा



काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरु राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेको हुन् ।

असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष दाहालसहित बरिष्ठ नेताहरु खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकको पहिलो दिनमै ओलीबाट अब सरकार र पार्टी दुवै चल्न नसक्ने भन्दै मार्गप्रशस्त गर्न सुझाएका थिए । तर, ओलीले आफूले दुवै पद नछाड्ने अडान लिएका छन् । दाहाल-नेपाल पक्षले जुनसुकै हालतमा ओलीलाई हटाउने रणनीति अख्तियार गरेपछि ओलीले बरु पार्टी फुटाउने तर कुनैपनि हालतमा राजीनामा नदिने चूनौति दिएका छन् ।

हिजोमात्रै प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । लगत्तै, उनले मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफूलाई दुवै पदबाट हटाउन लागिएको र राष्ट्रपतिमाथिपनि महाअभियोग लगाउन पार्टीभित्रैबाट षड्यन्त्र भैरहेकोले आफ्नो कित्ता स्पष्ट पार्न निर्देशन दिएका थिए । तर, मन्त्रीहरु घनश्याम भुषाल र वर्षमान पुनले गलत सूचनाको पछि लाग्न नहुने भन्दै संयमतापूर्वक सोच्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यही सेरोफेरोमा नेकपाका शीर्ष नेताहरुले राष्ट्रपतिलाई भेट्न खोजेको बुझिएको छ । आजै दुई अध्यक्ष ओली र दाहालबीच पनि भेटवार्ता हुँदैछ । स्थायी कमिटीको बैठक सोमबार बस्नेगरि स्थगित् भएको छ । File Photo



प्रतिक्रिया दिनुहोस्