काठमाडौं, २१ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नेतृत्वबीच विवाद बढ्दै गएपछि केन्द्रीय सदस्यहरुले पार्टीको केन्द्रिय कमिटी बैठक बोलाउनको लागि हस्ताक्षर सुरु गरेका छन् । यसरी बैठकको माग गरेर हस्ताक्षर सुरु गर्नेमा बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु नै अग्रपँक्तिमा छन् ।
असार १० गतेबाट सुरु भएको पार्टीको स्थायी कमिटीको पाँचौं बैठकको सुरुमै प्रधानमन्त्री तथा अध्यक्षबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्नै माग उठेपछि विवाद उत्कर्षमा पुगेको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले ओलीको राजीनामा माग गरेका हुन् । ओलीबाट पार्टी र सरकार दुवै चल्न नसक्ने उनीहरुको निश्कर्ष छ । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान लिएका छन ।
स्थायी कमिटीको बैठक भोलि विहान ११ बजे बस्दैछ । यो बीचमा नेताहरुबीच विभिन्न चरणमा वार्ता तथा छलफल समेत भैरहेका छन् । तर, सहमति भने भैसकेको छैन् । पार्टी एकतालाई जोगाउनको लागि दोस्रो पुस्ताका नेताहरु पनि सघन सम्वादमा जु्टेका छनु् । हिजोबाट केन्द्रिय सदस्यहरुले जुममार्फत छलफल गरेर पार्टी एकतालाई जोगाउनको लागि केन्द्रीय कमिटीको बैठक बोलाउने हस्ताक्षर सुरु गरेका छन् । file photo