काठमाडौं, २२ असार । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भारतसँग सुमधुर सम्बन्ध रहेको स्पष्ट पारेका छन् । ओलीले असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै आफूलाई भारतले हटाउन षड्यन्त्र गरेको भन्ने दाबी गरेसँगै पासवानले यस्तो टिप्पणी गरेका हुन् ।
सोमबार रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै पूर्वमन्त्री पासवानले प्रधानमन्त्री ओलीको विगत लामो समयदेखि नै भारतसँग सुमधुर सम्बन्ध रहँदै आएको र अहिलेपनि नेकपाका नेताहरुमध्ये ओली नै भारतसँग निकट रहेको दाबी गरे । उनले भने,‘नेकपामा भारतसँग यदि कसैको सुमधुर सम्बन्ध छ भने त्यो ओलीकै छ, अरु नेताहरुको छैन् । भारतका कुनै व्यक्ति चाहे सत्ताभित्र होउसन वा बाहिर रहेका होउन्, उनीहरु चाहीँ बरु नेपालको वर्तमान सरकारको विरुद्धमा गएका हुनसक्छन, तर नेपाल–भारत सम्बन्धको बारेमा ओलीसँग सुमधुर सम्बन्ध छ।’
उनले नेपालका प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन खोजेको भनेर गरेको दाबीमा कुनै सत्यता नभएको भन्दै प्रश्न गरे,‘भारतले ओलीलाई प्रधानमन्त्रीबाट किन हटाउँछ ? म प्रश्न गर्न चाहन्छु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थायित्व नै भारतको हितमा छ । नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ऐतिहासिक छ, यो सम्बन्ध जनस्तरमा पनि प्रगाढ छ । कसैले चाहँदैमा सम्बन्धमा चिसोपना आउने होईन । त्यसैले मलाई लाग्दैन कि भारतले ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै षड्यन्त्र गरेको छ भनेर ।’
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद अध्यक्षद्धय ओली र पुष्पकमल दाहालबीचको शक्ति बाँडफाँडको टकरावको कारण उत्पन्न भएको उनको टिप्पणी छ । उनले भने,‘ओली र दाहालले पदको लागि नेकपाभित्र झगडाको विउ रोपेका हुन् । पदमा कुरा मिल्नेबित्तिकै सबै समस्या समाधान हुन्छ ।’
उनले वर्तमान प्रधानमन्त्री ओलीलाई कमजोर राजनीतिक खेलाडीको रुपमा कसैले चित्रण गरे त्यो भन्दा ठूलो मुर्खता अरु केही नहुनेपनि दाबी गरे । नेकपाभित्रको विवाद एक/दुई दिनभित्रै हल हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । उनले नेकपा कुनैपनि हालतमा नफुट्ने दाबी गरे । ‘बहुमत र अल्पमतको कुरा जुन रुपले बाहिर आएको छ, त्यो फगत चर्चा तथा परिचर्चा मात्रै हो। प्रचण्डले ओलीसँग सहमति गर्नेबित्तिकै यो बहुमत वा अल्पमतवाला गणितको खेलोमेलो आफैं समाप्त हुन्छ ।’–उनले भने ।