इलाम, असार २३ । चिया उत्पादनको प्रमुख क्षेत्र रहेको सूर्योदय नगरपालिकाले चियाका लागि छुट्टै शाखा स्थापना गरेको छ । पछिल्लो चियामा समस्या चुलिँदै जाँदा त्यसको समाधानका निम्ति नगरपालिकाले सचिवालय गठन गरेर शाखा स्थापना गरेको हो ।
चिया किसान, उद्योगी र बजारको आ–आफ्नै समस्या झेल्दै आएको चिया क्षेत्रले चिया शाखा र सचिवालय पाएसँगै चियाको समस्या हल हुने अपेक्षा लिइएको छ । नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यको संयोजकत्वमा गठन गरिएको सचिवालयमा किसानका प्रतिनिधि, चिया उद्योगीका प्रतिनिधि, चिया तथा कफी विकास बोर्डका प्रतिनिधि र नगरपालिकाका उद्योग अधिकृत सदस्य सचिव छन् ।
सचिवालयले पहिलो चरणमा हरियो पत्तीको गुणस्तर सुधार, उद्योगहरूको अनुगमन र चिया निरीक्षक राख्ने प्रक्रिया अगाडि बढाएको सचिवालय संयोजक आचार्यले बताए। चिया शाखा स्थापना भएपछि नगरपालिकाका १४ वटै वडामा एक–एक जना गुणस्तर निरीक्षक रहने व्यवस्था हुनेछ । किसानले उत्पादन गरेको चियाको गुणस्तर हेर्ने काम निरीक्षकले गर्नेछ । अहिले नगरपालिकाले निर्धारण गरेको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ उद्योगहरूले किसानलाई दिन आनाकानी गरेका छन्, आचार्यले भन्नुभयो– चिया शाखा, सचिवालय र गुणस्तर निरीक्षक भएपछि समस्या टुङ्गो लगाउँछौँ भन्ने हाम्रो लक्ष्य छ ।
उनले केही महिनायता चिया भारत निकासी नहुँदा किसान र उद्योगीबीच देखिएको समस्या पनि समाधान हुन थालेको बताएका छन । गत चैतमा बन्दाबन्दी सुरु हुँदैदेखि भारत निकासी रोकिएको चिया निकासी हुन थालेको छ । झापाको काँकडभिट्टा नाका हुँदै निकासी सुरु भएको सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनका सचिव गोपाल कट्टेलले बताए। उनले भने, नगरपालिकाको मापदण्ड अनुसारको ४० प्रतिशत हरियो मुना भएको पत्तीको मूल्य प्रतिकिलो ४० रुपियाँ छ, त्यही गुणस्तरअनुसार किसानबाट चिया आयो भने उद्योगहरू दिन तयार छन् ।
नगरपालिकाले पनि चियाका लागि आगामी आर्थिक वर्षमा १६ करोड रुपियाँभन्दा बढी रकम खर्च गर्नेछ । प्रदेश एक सरकारमार्फत ‘टी टेस्टिङ सेन्टर’का लागि आएको १६ करोड रुपियाँमध्ये साढे १२ करोड टेस्टिङ सेन्टरमा खर्च हुने नगरपालिकाले जनाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।