Logo

प्रधानमन्त्रीको राष्ट्रवाद दिल्ली र बेजिङमा बेचिएकाले नेपाल दुई मित्र राष्ट्रको क्रिडा स्थल बन्योः डा लोहनी



काठमाडौं, असार २३। राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले चीन र भारतको स्वार्थ नमिलेसम्म नेकपाको विवाद मिल्न नसक्ने तर्क गरेका छन् । आफुलाई सवै भन्दा ठूलो राष्ट्रवादी हुँ भन्ने प्रधानमन्त्रीले पार्टीको सामान्य विवाद मिलाउन समेत विदेशीको साथ मागेर नेपालको राष्ट्रियतामाथिनै प्रश्नचिन्ह खडा गरेको लोहनीको भनाई छ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष लोहनीले नेपालको पुरानो राष्ट्रियता, सार्वभौमिकता र राष्ट्रवादलाई नेकपाले बेचिसकेको आरोप लगाए । यस्तो समयमा धेरै सजगताका साथ सरकार र सत्तारुढ पार्टीले काम गर्नुपर्नेमा उल्टै प्रधानमन्त्री र पार्टी अध्यक्ष चुन्न जनमत भन्दा बिदेशीको भूमिका बढाएको उनले बताए ।

लोहनीले बाहिरी प्रभाव बढ्नु त्यसैपनि दुखद भएको र प्रधानमन्त्रीको राष्ट्रवाद दिल्ली र बेजिङमा बेचिएकाले दुई मित्र राष्ट्रको क्रिडा स्थलको रुपमा नेपाललाई पुर्याएको दावीसमेत गरे। नेपाल र नेपाली हराउने अवस्था आइसकेको भन्दै उनले नेपाल सरकारलाई कस्ले टिकाएको छ भन्ने कुरै बुझन कठिन हुन थालेको धारणा राखेका छन् ।

नेकपाभित्र नेपाली जनताको तस्वीर हराइसकेको भन्दै उनले प्रधानमन्त्रीको कुर्सीमा बसेका व्यक्तीका कार्यकर्ता सडकमा आउनु, नेपालको परराष्ट्रनीति समाप्त हुनु, परराष्ट्रमन्त्रीको अस्थित्व हराएर जानु देशका लागि गतिलो संकेत नभएको बताए । प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले मलाई भारतसँग मिलेर हटाउन खोजे भन्नु र बचाउका लागि चिनियाँ राजदुतलाई बोलाउनु लाजमर्दो कुरा भएको उनले उल्लेख गरे ।

लोहनीले भने, ‘एउटा महाशक्तिले ओलीलाई हटाउने र अर्कोले बचाउनुपर्ने अवस्था देखियो । यो भनेको दुई देशको भागबण्डामा नेपाल फसेको हो । ओलीले अब जनताको कुरा गर्न मिल्दैन । अब नेपालमा सन्तुलन कायम नभएर अफगानीस्तान जस्तै हुन्छ । चलखेल बढाउने बतावरण नेकपाको दुवै पक्षबाट भएको हो । नेपाली सत्तामा अडिन र पुग्नका लागि अब नेकपालाई नेपाली जनता चाहिदैन । विदेशी भए पुग्छ ।’



प्रतिक्रिया दिनुहोस्