काठमाडौं, असार २४ । परराष्ट्रविद्ले सत्तारुढ दलको आन्तरिक विवादमा विदेशी चलखेल बढीरहेको भन्दै नेपालको परराष्ट्रनीतिमा प्रधानमन्त्रीसहित नेकपाका नेताहरुको योग्यतामा प्रश्न उठाएका छन् ।
प्रभानमन्त्री केपी शर्मा ओलीले आफुलाई भारतले प्रधानमन्त्रीमा नियुक्ति दिएको र उसैले हटाउन खोजेको जस्ता अभिव्यक्ति दिनु र अरु शीर्ष नेताहरुले चिनियाँ राजदूतलाई घरघरमा बोलाएर पार्टीको विवादका विषयमा कुरा गर्नुले नेपालको कुटनीति मर्यादालाई समेत समाप्त पारेको उनिहरुको भनाई छ ।
पत्रकार ऋषि धमलासँग कुरागर्दै परराष्ट्रविद् डा दिनेश भट्टराईले पछिल्लो समयमा सत्तारुढ दलको पार्टीको विवादमा भइरहेको चिनियाँ चलखेलले नेपालको पराष्ट्रनीतिलाई समाप्त पारेको दावी गरे । सरकार चलाउने दलभित्रको आन्तरिक विवादमा एउटा छिमेकीलाई गाली गर्ने र अर्को छिमेकीलाई स्वागत गर्ने कुरा नेपालको परराष्ट्रनीतिमा पछि सम्मै असर पार्ने उनको भनाई छ ।
यस्तो समयमा नेपाल चीन वा भारत कतै छैन र दुवै देशसँग समान व्यवहार गर्न चाहिरहेको छ भने देखाउनुपर्ने समयमा सत्तामा बसेको पार्टीका नेताहरुको हिमचिम उत्तरतिर देखिनुले नेपालले भोली कुटनीतिक मामिलामा बोक्नै नसक्ने भारी बोक्नु पर्ने भट्टराईको भनाई छ । उहाँले चीनको साथ लिएर नेपालले भारत विरोधी गतिविधि गरिहेको भन्ने भारतीय भनाइलाई अहिलेको घटनाले पुष्टि गरिदिएको बताए।
भट्टराईले भने,‘नेकपाका नेताहरुले राजदूतलाई अहिलेको सन्र्दभमा नभेटौ भन्नुपर्ने हो । पार्टीको विवादमा विदेशी राजदूत बोलाउन नेताहरु कस्ता हुन । उनिहरुको योग्यता के हो । यो पार्टीको झगडामा नेताहरु कम्जोर भए । राजदूतले जहिले पनि खेल्न खोज्छन् । नेताहरुले बुझ्नुपर्ने हो । पहिले पनि चीनले पार्टीको झगडा थामथुम पारेको थियो, फेरी खेलिरहेको छ । भारतले चीनको बहकावमा लागेर नेपालले यस्तो काम गरिरहेको भनिरहेको अवस्थामा चीनको सक्रियातले भारतको भनाइलाई पुष्टि गरेको छ ।’
उनले नक्सा सार्वजनिक गर्दा बनेको राष्ट्रिय सहमतिलाई लिएर भारतसँग वार्तामा बस्नुपर्ने प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध थप विगारेको बताए । प्रधानमन्त्री ओली र सत्तापक्ष शीर्ष नेताहरुका कारण नेपालको परराष्ट्रनीति अप्ठ्यारो मोडमा पुगेको र यो समयमा कुटनीतिको क्षेत्रमा काम गरिरहेकाहरुलाई कामै गर्न नदिएर गल्ति गरेको भट्टराईको भनाई छ ।
उनले भने,‘संविधानले दिएका आधारभूत मान्यताहरु पनि पालना भएनन् । हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध एउटा मुलुकसँग मात्र जोडिने हैन । सवै राष्ट्रसँग राम्रो हुनपर्छ । असंलग्न परराष्ट्र निति हो हाम्रो । उहाँलाई भारतले प्रधानमन्त्री बनाएको हैन । नेपाली जनताले हो । भारतले कसरी हटाउछ ।’