Logo

चीनको भूमिकालाई गलत व्याख्या गरिदै छः देव गुरुङ



काठमाडौं, असार २४ । सत्तारुढ नेकपाका प्रमुख सचेतक देव गुरुङले चिनियाँ राजदूत र नेताहरुको भेटघाटलाई लिएर चीनबिरुद्ध अनावश्यक टिकाटिप्पणी नगर्न चेतावनी दिएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेकपाको आन्तरिक राजनीतिमा र नेपालको हित विपरित काम गरेको कुनै प्रमाण पेश गर्न चुनौती दिदै उनले चीनको भूमिकालाई गलत व्याख्या गरिएको दावीसमेत गरे ।

चिनियाँ राजदूत र नेकपाका नेताहरुका बीचमा भएको सामान्य भेटघाटको विषयलाई उचालेर विवादित बनाउन आवश्यक नभएको उनको भनाई छ । पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता गुरुङले चीनले नेपाल र नेकपाको आन्तरिक विषयमा कुनै किसिमका हस्तक्षेपकारी भूमिका नदेखाएकाले नेताहरुसँग भएको सामान्य भेटघाटलाई राजनीतिक विषय बनाएर पार्टीको बैठकमा छलफल गर्न पनि आवश्यक नभएको धारणा राखे । उनले भारतले आफुलाई हटाउन खोजेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पुष्टि गर्ने कुनै आधार पनि नभेटिएको समेत बताए ।

गुरुङले भने, ‘चीनका राजदूत याङ्छीले नेपालको सरकार गठन र प्रधानमन्त्री परिवर्तन गर्ने कुरामा कुनै भूमिका खेलेको देखिदैन । सरकार गठनदेखि प्रधानन्त्री परिवर्तनका विषय पार्टीको अन्तरिक कुरा हो । यसमा चीनसँग छलफल गरेको छैन । नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेकै छैन । भारतको विषयमा पनि पछाडी लागेर साध्य हुदैन । प्रधानमन्त्रीले भनेको कुरा पनि प्रमाणका रुपमा देखिदैन ।’



प्रतिक्रिया दिनुहोस्