काठमाडौँ २८ असार : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न मुलुकबाट गरिने उद्धार उडान जुलाई १२ सम्म निर्धारण गरेको थियो । यस बीचमा २६ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । मन्त्रालयले आगामी जुलाई १५ देखि २२ सम्मको थप चार्टर्ड उडान तालिका सार्वजनिक गरेको हो । यस अवधिमा ४२ वटा उडान हुँदैछन् । यसमा नेपाल एयरलाइन्सको मात्रै २४ उडान हुनेछ ।
मन्त्रालयले बनाएको उडान तालिकाअनुसार उसले जुलाई १५ मा दुबईमा दुई उडान गर्नेछ भने हिमालय एयरलाइन्सले आबुधाबीमा दुई उडान गर्नेछ । जुलाई १६ मा नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमाम र कतारको रियादमा तीन तथा हिमालयले समान तीन उडान गर्ने तालिका छ । त्यस्तै जुलाई १७ मा नेपाल एयरलाइन्सले कतारमा दुई र हिमालयले बहराइनमा दुई उडान गर्नेछन् । जुलाई १८ मा नेपाल एयरलाइन्सले दुबई र दोहामा चार उडान गर्नेछ । सोही दिन हिमालयले आबुधाबीमा दुई उडान गर्नेछ ।
त्यसैगरी जुलाई १९ मा मलेसिया गन्तव्यमा ती एयरलाइन्सले दुई÷दुई उडान गर्नेछन् । यसैगरी जुलाई २० मा तीन÷तीन उडान गर्नेछन् । जुलाई २१ मा मलेसिया गन्तव्यमा दुई एयरलाइन्सले समान दुई उडान गर्ने तालिका सार्वजनिक गरिएको छ ।
जुलाई १४ मा नेपाल एयरलाइन्सले संयुक्त राष्ट्रसङ्घको मिशनमा नेपाली सेना लैजानका लागि चार्टर्ड उडान गर्नेछ भने सोही अवधिमा कोरियन एयरले दक्षिण कोरियाको सिओलबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने जनाइएको छ ।
सम्बन्धित मुलुकबाट एयर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एयरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउनेछ । सोही अवधिभर मालिन्दो एयरले पनि दैनिक दुई उडान गर्नेछ ।
पर्यटन मन्त्रालयले जुलाई महिनामा विभिन्न मुलुकबाट गरिने उद्धार उडानका लागि नेपाल एयरलाइन्सलाई तीन र हिमालयलाई दुई उडान अनुमति दिएको थियो ।
कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एयरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन् । यी एयरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक नौदेखि १६ वटा चार्टर्ड उडान हुँदै आएका छन् । असार महिनामा धेरै सङ्ख्यामा उडान भएको विमानस्थलको विवरण छ । यही असार १२ गते एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो । यसअघि असार १० र ११ मा दैनिक १५ उडान भए । शनिबार पनि एकै दिन १६ अन्तर्राष्ट्रिय उडान भएको थियो ।रासस