Logo

ओखलढुङ्गाको लिखु गाउँपालिकाको विशङ्खेटोल सिल



ओखलढुङ्गा, असार ३० । जिल्लाको लिखु गाउँपालिकाको एक बस्तीलाई सिल गरिएको छ । लिखु गाउँपालिका वडा नं २ स्थित कुवापानी गाउँभित्रको विशङ्खे टोलमा रहेका २५ घरधुरी सिल गरिएको हो ।

गएको असार २६ गते कोरोना सङ्क्रमण पुष्टि भएका लिखु गाउँपालिकाका ७२ वर्षीय क्यान्सरपीडित वृद्धलाई थप उपचारका लागि अन्यत्र पठाउन समस्या भएका कारण गाउँ सिल गरिएको लिखु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिनानाथ चौधरीले बताए । क्यान्सरका कारण अवस्था चिन्ताजनक भएपछि काठमाडौँबाट उपचार गराएर गाउँ फर्किएका वृद्धलाई कोरोना पोजिटिभ भएपछि उनलाई उपचारका लागि अन्यत्र पठाउन नसकिएको चौधरीको भनाइ छ ।

काठमाडौँमै रहँदा स्वाब दिएर गाउँ फर्किएका उनी गाउँ फर्किसकेपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भइसकेपछि सङ्क्रमित वृद्धको कन्ट्याक्ट ट्रेसिङ गर्दा गाउँका अरुले पनि उनीसँग भेटघाट गरेको पाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए । उनीसँग भेटघाट गरेको पाइएकोले गाउँलाई नै क्वारेन्टाइन बनाएर सिल गर्नुपरेको उनको भनाई छ ।

हाल गाउँलाई सिल गरिएपछि आवतजावत गर्न प्रतिबन्ध लगाइएको छ । गाउँमा नेपाल प्रहरी र लिखु गाउँपालिकाका नगर प्रहरीले सुरक्षा दिइरहेका छन् । सिल गरिएको विशङ्खेटोलभित्र करिब एक सय जना रहेको लिखु गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामहरि बुढाथोकीले बताए । आइतबार मात्रै लिखु गाउँपालिकाले सिल गरिएको गाउँमा राहत वितरण गरेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्