काठमाडौं, १ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद कायमै छ । गत असार १० गतेदेखि सुरु भएको पार्टीको स्थायी कमिटीको पाँचौ बैठकमा नेताहरुले अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग गरेपछि विवाद चुलिएको हो । तर, ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने अडान राखेका छन् ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमै ओलीको राजीनामा मागेका थिए । यो बीचमा दुई अध्यक्षबीच सहमति खोजिने प्रयासस्वरुप धेरै पटक स्थायी कमिटीको बैठक स्थगित् हुँदै आएको छ । स्थायी कमिटीको बैठक भोलि (शुक्रबार) विहान ११ बजे बस्ने भनिएको छ । तर, बैठक बस्छ वा बस्दैन् भन्नेबारे टुँगो छैन् । अध्यक्षद्धय ओली र दाहालबीच थुप्रैपटक एक्लाएक्लै भेटवार्ता भैरहेका छन् । तर, ठोस सहमति भने हुन नसकेको दुवै पक्षका नेताहरुले दाबी गरेका छन् ।
हिजोमात्रै पनि ओली र दाहालबीच करिब तीन घण्टा भेटवार्ता भयो । तर, ठोस सहमति भएन् । ओलीले दुवै पदबाट राजीनामा नदिने अडान दोहोर्याए भने दाहालले प्रधानमन्त्रीबाट राजीनामा दिएर अघि बढ्न ओलीलाई सुझाएका थिए । स्रोतकाअनुसार ओलीले एकता महाधिवेशन मंसिरमै गर्नेबारे निर्णय स्थायी कमिटीको यही बैठकबाट गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
ओलीले महाधिवेशनपछि पार्टीको एकल नेतृत्व लिन र आगामी चुनावपछि प्रधानमन्त्री बन्न दाहाललाई यसअघिपनि प्रस्ताव गरिसकेका छन् । तर, दाहालले भने आफू त्यतिवेलासम्म कुर्ने पक्षमा नभएको जवाफ फर्काएका छन् । ओली र दाहालबीच आजपनि भेटवार्ता हुँदैछ । आजको छलफलमा भने बरिष्ठ नेता माधव कुमार नेपालपनि सहभागी हुने एक नेताले जानकारी दिए ।
अहिले बहुमत र अल्पमतको आधारमा जाने हो भने यसले दुवै अध्यक्षलाई नै वारी र पारी गराउने र अन्त्यमा पार्टी विभाजन हुने दाहालनिकट स्थायी कमिटी सदस्य चक्रपाणि खनालको दाबी छ । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण भएको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले दुवै पदमा बस्ने प्रधामन्त्री केपी शर्मा ओलीको अडान गलत भएको भन्दै ओलीका कारणले मात्रै यति ठूलो जनमत नआएको र यो मत नेपालको कम्युनिष्ट आन्दोलन एकिकरणको परिणाम भएको दावी गरेका छन्।
खनालले दुई अध्यक्षबीचमा मात्रै भएको सहमतिले पार्टी र सरकार अगाडी बढ्न नसक्ने पनि टिप्पणी गरेका छन् । पार्टीको कमिटी प्रणालीबाट निर्णय हुनुपर्नेमा खनालको जोड छ । बैठक बसेर गरेको बाहेकका अरु विकल्पले काम नगर्ने भन्दै उनले प्रधानमन्त्री ओलीले कमिटी प्रणाली नमान्ने र अरुले बहुमतले निर्णय गर्ने भन्ने हो भने पार्टीको विवाद नमिल्ने दावी गरे । file photo