नयाँ दिल्ली, २ साउन । कोरोना संक्रमण भएको पाँच दिनपछि चर्चित बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्य अस्पताल भर्ना भएका छन् । उनीहरु आज साँझ नानाभाटी अस्पतालमा भर्ना भएका हुन् ।
गत जुलाई ११ तारिखमा बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन पनि कोरोनाको संक्रमण देखिएपछि नानाभाटी अस्पताल भर्ना भएका हुन् । गत आईतबार ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोनाको संक्रमण देखिएको थियो । तर, उनीहरुमा कोरोनाको लक्षण त्यति नदेखिएपछि उनीहरु घरमै आईसोलेशनमा बसेका खबरहरु भारतीय सञ्चारमाध्यमले प्रकाशन तथा प्रसारण गरेका थिए ।
आज भने ऐश्वर्या र उनकी छोरी आराध्यामा कोभिडको माईल्ड सिम्टम्स देखिएपछि उनीहरु दुवै जना नानाभाटी अस्पतालमा उपचारको लागि भर्ना भएका हुन् । अस्प्तालले ऐश्वर्या र आराध्या दुवैको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचार पनि सुरु गरिसकिएको जनाएको छ । ऐश्वर्याका ससुरा अमिताभ र श्रीमान अभिषेक भने जुलाई ११ तारिखदेखि नै अस्पतालमा भर्ना भएर बसेका छन् । अमिताभकी श्रीमती जयालाई भने कोरोना संक्रमण भएको छैन् । उनको टेष्ट नेगेटिभ आएको छ । एजेन्सी