राजविराज, साउन ६ । लगातार दुई–तीन दिनदेखि परेको मुसलधारे वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र जलमग्न भएको छ । लगातारको वर्षाका कारण विभिन्न नदी हुँदै बगेर आएको पानीको बहाव औद्योगिक क्षेत्रमा पसेपछि डुबान भएर जलमग्न भएको स्थानीय गजेन्द्र मण्डलले जानकारी दिए ।
सप्तरीको रुपनी गाउँपालिकास्थित बस्बिटीमा पर्ने सो औद्योगिक क्षेत्र वरिपरि पानीको निकास हुननसक्दा जलमग्न भएको हो । औद्योगिक क्षेत्र डुबान हुँदा त्यसभित्र रहेका उद्योगमा समेत पानी पस्दा लाखौँ मूल्य बराबरको क्षति भएको औद्योगिक क्षेत्रले जनाएको छ ।
सरकारी उपेक्षाको मार खेप्दै आएका औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएकामा लगातारको वर्षाका कारण डुबान हुँदा केही उद्योगमा पानीसमेत पसेको उद्योगी व्यवसायीहरुले बताएका छन् । औद्योगिक क्षेत्रभित्र मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इण्डस्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगलगायत सञ्चालमा छन् । औद्योगिक क्षेत्रको पूर्व र दक्षिण छेउबाट बग्ने पानीको बहाव थुनिएर पानी निकास नभएका कारण औद्योगिक क्षेत्र जलमग्न भएको स्थानीयवासीको भनाइ छ ।
यस्तै लगातार तीन दिनदेखि भइरहेको वर्षाले सप्तरीको दक्षिणी र पश्चिमी भेगका तिलाठी को इलाडी र बलानबिहुल गाउँपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । भलुवाहीखोलामा आएको बाढीले नि कास नपाउँदा राजविराज नगरपालिका वडा नं १, २, ५, ६, ७, ८, १० र १५ का करिब १५० घर डुबानमा परेको जनाइएको छ ।रासस