Logo

बाढी, पहिरो र डुबानका कारण सात जनाको मृत्यु, चार वेपत्ता



काठमाडौं, साउन ७। निरन्तरको वर्षापछि बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पछिल्लो घटनामा सात जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।

काठमाडौँको टोखा नगरपालिका पासीडाँडास्थित टहरो घरमाथि बिहान पहिरो खस्दा रामकुमार रानामगरका जुम्ल्याहा सन्तान तीन वर्षीया सन्ध्या र सचिनको मृत्यु भएको छ । सुनसरी स्थायी निवासी रानामगरको सपरिवार महेश श्रेष्ठको उक्त टहरो घरमा बस्दै आएको थियो ।

महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख विश्वराज पोखरेलका अनुसार बिहान वर्षासँगै पहिरो खस्दा टहराभित्र रहेका आफन्त भागेर ज्यान जोगाउन सफल भए पनि सन्ध्या र सचिन पहिरोमा परेको जानकारी दिए।

त्यसैगरी कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीमा आइतबार राति पहिरो जाँदा २२ वर्षीय मनराज गुरुङको मृत्यु भएको थियो ।त्यस्तै गजुरी गाउँपालिकाको मलेखुस्थित पहिरोमा परी १७ वर्षीया निकिता परियारको मृत्यु भएको छ भने जितेन चौधरी र बालिका सङ्गीता चेपाङ घाइते भएका छन् ।

घाइतेको काठमाडौंमा उपचार भइरहेको छ । पूर्वी नवलपरासीको बुलिङटारमा गएको पहिरोमा परी ७० वर्षीय शेरबहादुर सार्कीको दम्पती बेपत्ता छन् । स्थानीय प्रहरीले पहिरोमा बेपत्ता भएका सार्की दम्पतीको खोजी जारी राखेको छ । उता बाजुरामा बाढीले बगाउँदा दाजुभाइ बेपत्ता भएका छन् ।

नेपाल प्रहरीका अनुसार बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको छ । गत जेठ ३० देखि साउन ६ सम्म ११८ जनाको मृत्यु भएको छ भने ४९ जना बेपत्ता र ११५ जना घाइते छन् ।

बाढीभन्दा पहिरोका कारण मानवीय क्षति अत्यधिक छ । बाढी, पहिरो र डुबानका कारण भौतिक संरचना घर, भवन, विद्यालय र सवारी साधनमा क्षति पुगेको जनाइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्