Logo

नेकपामा व्यक्तिवादी प्रबृत्ति मौलायो, कमरेड भावना अन्त्य भयोः माधव नेपाल



काठमाडौं, साउन ७। पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा भित्र कमरेडी भावना अन्त्य भएको बताएका छन् ।

कमरेडको अर्थ आत्मिय मित्र भएपनि नेकपा भित्र अहिले आत्मियता र मित्रता सकिएको दाबीगर्दे उनले एकले अर्कालाई सम्वोधन गर्दा कमरेड भनेर मात्रै नहुने र व्यवहार पनि त्यस्तै हुनुपर्नेमा जोड दिएका छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा नेपाली बोल्दै उनले नेकपामा व्यक्तिवादी प्रबृत्ति मौलाएको बताएका हुन् ।

पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले भने, ‘म व्यक्तिवादी चरित्र र प्रबृत्तिको विरोधी हुँ, म त्यसको घोर विरोध गर्दछु, म पहिले देखिनै यसको विपक्षमा कठोर रुपमा उभिदै आएको छु , व्यक्ति पुजा मुर्दावाद ।’

बरिष्ठ नेता नेपालले पार्टी नेतृत्व गुटमा रमाउने, जनतालाई महत्व दिदै नदिने, पार्टी र कार्यकर्ताको भावनालाई वेवास्ता गर्ने गरेको आरोपसमेत लगाएका छन्। कम्युनिष्ट पार्टीमा सरकारमा भएका बेला भ्रष्टाचार बढेको, सरकार र जनताको दुरी बढेको पार्टी र कार्यकर्ताको भेट हुन छाडेको उनको भनाई छ ।

जनताभन्दा आफुलाई ठूलो ठान्ने, जनताका कुरा नसुन्ने प्रबत्तिले पुष्पलालले शुरु गरेको कम्युनिष्ट आन्दोलन नै खतरामा परेको नेता नेपालले दावी गरे ।

‘विश्वका धेरै देशमा कम्युनिष्ट र जनताको दुरी बढ्ने, कार्यकर्ता टाढा हुने, उनीहरुलाई वेवास्ता गर्ने, एकलौटी र व्यक्तिवादी चरित्र प्रदर्शन गर्ने गरेकाले कम्युनिष्ट पार्टीहरु पतन भएका छन्,’ उनले भने ।

नेकपामा पनि अहिले देखिएको प्रबृत्तिमा सुधार भएन भने नेपालका कम्युनिष्ट पार्टीप्रति पनि जनताको चरम वितृष्णा बढेर कम्युनिष्टहरु समाप्त हुने उनको चेतावनी रहेको छ ।

कम्युनिष्ट आन्दोलनलाई नै समाप्त पार्ने पार्टी भित्रका प्रबृत्तिलाई सुधार्नका लागि नै आफुहरुले अहिले अन्तरसंघर्ष गर्नु परेको उनले बताए ।

बरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टी भित्रको अहिलेको संघर्षलाई पार्टी सुधार्ने छलफल तथा कसरतका रुपमा बुझ्न पनि आग्रह गरेका छन् ।

कसैसँग व्यक्तिगत टकराव र लाभका लागि नभई पार्टी भित्रको विकृति र गलत प्रबृत्ति सुधार्नका लागि भएका प्रयासलाई झगडाको रुपमा देखिएको उनको तर्क छ ।रासस



प्रतिक्रिया दिनुहोस्