साउन ७, काठमाण्डौ । लकडाउनका कारण स्थगित कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातामा गर्ने गरी तयारी सुरु भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनको तालिका बनाउन लागेको हो ।
विगतमा परीक्षा केन्द्र तय गरिएका २ सय ५० भन्दा बढी विद्यालयहरु क्वारेन्टाइन बनाइएका कारण ती केन्द्रहरु निर्मलीकरण गरी झण्डै दोब्बरको संख्यामा केन्द्र र उपकेन्द्रहरु थपेर परीक्षा सञ्चालन गर्न लागिएको बोर्डले जनाएको छ । परीक्षा सकिएको १ महिना भित्र नतिजा सार्वजनिक गर्ने योजना बोर्डको छ ।
यसैगरि बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै लिने गरी कार्यविधि समेत सार्वजनिक गरेको छ । कक्षा ११ को परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ५ लाख २९ हजार र कक्षा १२ को परीक्षामा ४ लाख ३० हजार विद्यार्थी सहभागी हुँदैछन् ।