राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि तीनजनाको नाम सिफारिश भएको छ । अन्तिम प्रतिष्पर्धामा रमेशकुमार सिलवाल, लिलबहादुर थापा र अन्जु श्रेष्ठको नाम सिफारिश भएको हो ।
२७ जनाले खुल्ला आवेदनमा नाम दर्ता गरेकोमा युवा तथा खेलकुद मन्त्रालया सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले सिलवाल, थापा र श्रेष्ठलाई अन्तिम प्रतिष्पर्धामा छानेको हो । अब बस्ने मन्त्रिपरिषद बैठकले अन्तिम नाम टुंगो लगाउनेछ ।
सिलवाल निवर्तमान सदस्य सचिव हुन् । उनी प्रधानमन्त्री ओली निकटस्थ मानिन्छन् । थापा नेकपा अध्यक्ष प्रचण्ड नजिकका हुन् । उनी पूर्व भलिबल खेलाडी तथा नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष हुन् । श्रेष्ठ राष्ट्रिय भलिबल टोलीकी पूर्व कप्तान हुन् ।
सिफारिश तीनजनामा महिला अनिवार्य हुनुपर्छ । यद्यपि सिलवाल र थापाबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । दुवैजना सदस्य सचिव बन्नेमा ढुक्क छन् । अब बस्ने मन्त्रिपरिषद बैठकले सदस्यसचिवको टुंगो लगाउनेछ ।