काठमाडौं, साउन ९ । जमलमा निर्माण गर्ने भनिएको नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण कार्यमा सरकारले अंकुश लगाएको छ । भवन निर्माण प्रक्रियाको अन्तिम चरणमा पुगेको पुस्तकालय तत्कालका लागि रोक्ने मन्त्रिपरिषद्को निर्णयले पुस्तकालयको भविष्य संकटमा परेको छ ।
भवन निर्माणका लागि चालू आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । गत ६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्म भवन निर्माण कार्य नगर्ने नगराउने निर्णय गरेको हो ।
निर्णयपत्रमा भनिएको छ, ‘मन्त्रिपरिषद्कोे २०७५ असोज २८ को बैठकबाट साविक काठमाडौं नगरपालिका–१ जमलस्थित कित्ता नम्बर १२७० को ७ रोपनी १५ आना जग्गामा नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माण गर्न स्वीकृत प्रदान गरिएकामा अर्को निर्णय नभएसम्म सो भवनको निर्माण कार्य नगर्ने नगराउने ।’
भवन निर्माणअन्तर्गत हालसम्म वातावरण प्रभाव मूल्यांकन, माटो परीक्षण, जग्गा प्रमाणपत्रलगायत कागजी प्रक्रिया टुंगिसकेको थियो । हालसम्म पुस्तकालय निर्माण स्थलमा रहेका बिल्डिङ भत्काउने काम ६० प्रतिशत सम्पन्न भइसकेको पुस्तकालयले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।