Logo

पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित तीन नेता काँग्रेसबाट निष्काशित (विज्ञप्तिसहित)



काठमाडौं, १० साउन । पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित तीनजना नेताहरु नेपाली काँग्रेसबाट निष्काशित भएका छन् । आज बसेको काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले जोशीसहित तीनजनालाई अनुशासन उल्लंघन गरेको भन्दै निष्काशन गरेको जनाइएको छ ।

काँग्रेसका पूर्व सहमहामन्त्री समेत रहेका जोशीमाथि तनहुँमा पार्टीको उम्मेदवारलाई अन्र्तघात गरेको आरोप लाग्दै आएको थियो । उनका कारण वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय चुनावमा पराजित भएको विषय उठ्दै आएको थियो ।

जोशी पटक पटक मन्त्री भएका थिए । उनी कुनैबेला काँग्रेसमा बलियो पकड बनाएका नेताका रुपमा चिनिन्थे । जोशीविरुद्ध भ्रष्टाचारको मुद्दा अदालतमा विचाराधीन छ ।

पार्टीबाट निष्काशित हुनेमा पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझा र डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर बिष्ट समेत छन् । उनीहरुविरुद्ध अनुशासन उल्लंघनको उजुरी परेपछि स्पष्टिकरणको समय दिइएको थियो । जवाफ स्पष्ट नभएको अनुशासन समितिका संयोजक भीष्मराज आङदेम्बेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज अनुशासन समितिका संयोजक आङ्दम्बेसहित सदस्यहरु देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, धनराज गुरुङ र उमाकान्त चौधरी बैठकमा सहभागी थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्