काठमाडौं, साउन ११। नियमित धुम्रपान तथा सुर्तीसेवन गर्नेलाई कोरोनाको उच्च जोखिम रहेको चिकित्सकहरूले बताएका छन् । धुम्रपान गर्नेलाई रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्ने क्षमता नहुँदा जोखिम बढ्ने हुन्छ ।
विश्वलाई आतंकित बनाएको कोरोना भाइरसको सङ्क्रमणलाई सुर्तीजन्य पदाथले बढावा दिइरहेको छ । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुप्रसाद पौडेलले सुर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्ति कोरोना भाइरसको उच्च जोखिममा रहेको बताउन्छन् । उनले धुम्रपान सेवन गर्ने व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र कोरोनासँग लड्न नसक्ने बताएका छन्। धूमपान गर्ने व्यक्तिलाई अन्य सामान्य व्यक्तिलाई भन्दा कोरोनाको जोखिम बढी हुने र श्वाँसप्रश्वाँस प्रभाव पार्ने हुँदा भेन्टिलेटर तथा आइसीयुमा राख्नुपर्ने उनको भनाई रहेको छ ।
धुम्रपानले फोक्सोमा काम गर्ने क्षमतामा कमी आउने भन्दै डा पौडेलले सुर्तीजन्य पदार्थ हरेक रोगका लागि खतरा रहेको बताए । विश्वव्यापी महामारीको चपेटामा कोरोना भाइरस रहेकोले धूमपान गर्ने व्यक्तिलाई कोरोनाको सम्भावना हुन्छ, डा. पौडेलले थपे,“कोरोनाबाहेक धूमपानले मस्तिष्कघात, मुटुरोग, श्वासप्रश्वास, छातीसम्बन्धी रोगलाई पनि उत्तिकै असर गर्दछ ।”
उनले सुर्तीजन्य पदार्थ र धुम्रपान गर्ने व्यक्तिका लागि कोरोना भाइरस घातक हुने बताए । ‘सुर्तीजन्य पदार्थ र धूमपान गर्ने व्यक्तिमा कोरोना सङ्क्रमण भइहाले समस्या जटिल हुने सम्भावना धेरै हुने भन्दै पौडेलले धुम्रपान गर्ने व्यक्तिले कोरोनाको चपेटामा विशेष सावधानी अपनाउनुपर्ने उनको भनाई छ ।
क्यान्सर रोग विशेषज्ञ डा. पौडेललले सुर्तीजन्य पदार्थ र चुरोटको सेवनले कोरोना भाइरस सङ्क्रमणको जोखिममात्र होइन मुटुरोग, फोक्सोसम्बन्धी रोग, मधुमेह, रक्तचाप, क्यान्सरजस्ता नसर्ने रोगको जोखिम बढाउने बताए । डा. पौडेलका अनुसार सुर्ति सेवन गर्दा चुरोट खाने व्यक्तिसँग आइपुग्दा धेरै व्यक्तिको हातबाट पास हुँदै आउने, चुरोट सेवन गर्दा लाइटर पनि विभिन्न व्यक्तिहरूले छुने हुँदा बाहिरी प्रयोगले पनि कोरोनाको जोखिममा सूर्ती सेवनकर्ताहरू पर्ने आजको गोरखापत्र दैनिकमा खवर छ ।