साउन ११, काठमाण्डौ । नेपाली कांग्रेसको अनुसाशन समितिका संयोजक भीष्मराज आङदम्बेको अध्यक्षतामा बसेको बैठकले अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गर्दै बैठकले पूर्वमन्त्री गोविन्दराज जोशी र कैलालीका पुष्कर नाथ ओझालाई पाँच वर्षका लागि र डडेल्धुराका नेता रामबहादुर विष्टलाई तीन वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ । समितिका सदस्य किशोर सिंह राठौरले पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न सदस्यलाई एक वर्षदेखि पाँच वर्षसम्म पार्टीबाट निलम्बन गर्न सक्ने विधानमा व्यवस्था भए बमोजिम कारवाही गरीएको बताए ।
अनुशासन समितिले कारबाही गरेपछि कांग्रेसका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेताहरुले ट्वीटर, फेसबुक मार्फत दिएको प्रतिक्रियालाई पार्टी बिधान बिपरीत भएको सदस्य राठौरको बुझाई छ । अनुशासन समितिका सदस्य राठौर पार्टीलाई अनुशासनमा राख्न र बिधि र पद्धती अनुसार पार्टी संचालन गर्न कारवाहीको सिफारीस गरीएकाले यसलाई अन्यथा रुपमा नलिन आग्रह गर्छन् ।
कारबाहीको बिषयलाई लिएर काँग्रेसका नेताहरुले सभापती शेरबहादुर देउवालाई हराउन लागीपरेको भनी डडेल्धुराका नेता रामबहादुर विष्ट, काँग्रेस नेतृ आरजु राणा देउवालाई हराउन असहयोग गरेको भन्दै कैलालीका पुष्कर नाथ ओझालाई र बरीष्ठ नेता रामचन्द्र पौडेललाई हराउन सहयोग गरेको भनी पूर्वमन्त्री गोविन्दराज जोशीलाई कारवाही गरीएको थियो । कारबाहीमा परेका जोशीले सभापति देउवा र वरिष्ठ नेता पौडेलीवरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । जोशीले पौडेललाई गृहजिल्ला तनहुँमा प्रवेशसमेत गर्न नदिने चेतावनी दिएका छन् ।
प्राइम टाइम्स टेलिभिजनका लागि कुरा गर्दौ जोशीले अनुसाशन समितिले विना प्रमाण देउवा र पौडेलको भागबण्डा मिलाउन र स्वार्थ पूरा गर्नका लागि आफूहरुलाई कारबाही गरिएको आरोप लगाए ।
२०७४ सालमा भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध बागी दिने, उम्मेदवारलाई हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने पार्टीका सदस्यलाई कारवाही गर्न काँग्रेसले यस अघि पनि अनुशासन समिति बनाएको थियो । पार्टी केन्द्रीय कार्यालयमा ५० जिल्लाबाट करीब १२ सय नेता कार्यकर्ताविरुद्ध पार्टी हित विपरीत कार्य गरेको भनी कारवाहीका लागि उजुरी परेको थियो । त्यसमध्ये छानबिन गरी करीब ८ सय जनालाई स्पष्टिकरण सोध्ने निर्णय भएको र त्यसमध्ये ८ सय जनालाई स्पष्टिकरण सोधेर जवाफ पनि आइसकेको छ ।