Logo

भ्रष्टाचार गर्ने आफन्त, मन्त्री र सचिवलाई छोड्दिन : अख्तियार प्रमुख आयुक्त घिमिरे



साउन ११, काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले आयोगले निष्पक्ष ढंगले काम गरेको दावी गरेका छन् । सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त घिमिरेले आफन्तलाई पनि नछाडेको भन्दै आफ्नो जिम्मेवारी पूरा निष्पक्ष ढंगले पुरा गरेको दावी गरेका हुन् ।

घुस मागेको र दिएको भनेर पीडित अख्तियारमा गएमा आयोगले मन्त्री र सचिवलाइ पनि नछाड्ने बताए । प्रमुख आयुक्त घिमिरेले सर्वसाधारणको सरोकार जोडिएको बैंक, वित्तिय क्षेत्र, सहकारी, विमा लगातका क्षेत्रमा हुने भ्रष्टाचार अख्तियारलाई हेर्ने जिम्मा दिन आग्रह गरेका छन् ।

प्रमुख आयुक्त घिमिरेले भ्रष्टचार गर्ने स्थानीय तहका अधिकारीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए । देश विकासका लागि भनेर अरबौं रुपैयाँ बजेट भएका गैरसरकारी निकायमा हुने भष्ट्राचार हेर्न दिन उनले आग्रह गरे ।

घिमिरेले स्वास्थ्य सामग्री खरिद र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे अनुसन्धान गरिरहेको बताएका छन् । कोरोना महामारीको समयमा स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग भएको सम्झौता र खरिदका क्रममा भएको अनियमितबारे अनुसन्धान गरिरहेको बताएका हुन् । औषधि खरिदमा संलग्न भएकाहरुसँग बयान लिने काम भइरहेको उनले जानकारी दिए ।

यसैगरी, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा पनि अनुसन्धान गरिरहेको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए । बैठकमा समिति सदस्यहरुले आयोगले साना माछालाई मात्र समात्ने गरेको बताएका थिए । उनीहरुले राजनीतिक केन्द्रमा हुने भ्रष्टचारलाई आयोगले ध्यान दिनुपर्ने धारणा पनि राखेका थिए । अख्यितारलाई कुनै पनि प्रभावबाट मुक्त गर्नुपर्ने, स्थानीय तहमा देखिएका अनियमतातर्फ अनुसन्धान गर्नुपर्ने लगाएतका सुझाव उनीहरुले दिएका थिए ।

गत आर्थिक बर्षमा गरेका कामकारवाहीका बारेमा समितिलाई जानकारी गराउदै अख्तियारले गत आर्थिक वर्षमा ४ सय ४१ वटा मुद्धा दायर गरेको जनाएको छ । तस्वीर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्