काठमाडौं, साउन १३। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माणका लागि बोलपत्र आह्वानसँगै परियोजना नयाँ चरणमा प्रवेश गरेको छ । सो खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई बोलपत्र आह्वान भएपछि काम नयाँ चरणमा प्रवेश गरेको हो ।
मेची–महाकाली विद्युतीय रेलमार्गको निर्माण कार्य विभिन्न नौ खण्डमा भइरहेको र सोअन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डको निर्माण कार्य अगाडि बढाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले भने, ‘‘इनरुवा–काँकडभिट्टा खण्डमा १०६ किलोमिटरको ट्र्याक बेड निर्माण गर्न ५४ वटा बोलपत्र आह्वान गरिएको छ ।’’
राष्ट्रिय गौरवको आयोजनमा सूचीकृत सो रेलमार्गको वातावरणीय प्रभाव मूल्याकंन तथा विस्तृत परियोजना प्रतिवेदन तयार भएर स्वीकृत भइसकेको छ । त्यसैगरी जग्गा अधिग्रहण तथा मुआब्जा वितरण कार्य अन्तिम चरणमा पुगेको आजको गोरखापत्र दैनिकमा खवर छ ।