काठमाडौं, साउन १३ । चितवनको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका मतदातामाथी उनले नै बनाएको मन्त्रीले दमन गरेको टिप्पणी गरेका छन् ।
प्रचण्डकै सिफारिसमा बन मन्त्री बनेका शक्ति बहादुर बस्नेतले प्रचण्डको निर्वाचन क्षेत्रका मतदाताहरुमाथी दमन गरेको उनको भनाई छ ।
पत्रकार ऋषि धमलासंगको टेलिफोन सम्बादमा बन मन्त्री बस्नेतको अभिव्यक्ति आपत्तिजनक भएको ढकालले बताए। मन्त्री बस्नेतले निकुञ्जका कर्मचारीले स्थानीयको घर नभइ गोठ मात्रै जलाएको भनेर दिएको अभिव्यक्तिको सर्वत्र विरोध भइरहेको बेला मेयर ढकालले पनि आपत्ति जनाएका हुन् ।
उनले भने, ‘गरिव जनताकै नाममा राजनीति गर्नेहरुले गरिब किसान माथी धज्जी उडाउने काम भएको छ, उहाँको अभिव्यक्ति पनि आपत्तिजनक छ, सच्याउन उहाँलाई सुझाव दिन्छौँ ।’
स्थानीय बासिन्दालाई आगोलेभन्दा मन्त्रीको भनाईले पोलेको र घरभन्दा मन बढी डढेको उनको भनाई छ । मेयर ढकालले घटनाको छानविनका लागि बनाइएको समितिले मन्त्री बस्नेतलाई झुटाविवरण दिएकाले छानविन समितिका सदस्यहरुलाई पनि कारबाही गर्नुपर्नेमा जोड दिए।
‘जिम्मेबार निकाय र पदाधिकारीको रिपोर्ट नै गलत छन्, आगजनी गर्नेलाई मात्र नभइ गलत रिपोर्ट दिनेलाई पनि कारबाहीहुनुपर्छ।’ उनले भने ।
यथार्थलाई ढाक्ने काम भइरहेकाले विश्वसनीय र सर्वपक्षीय नयाँ छानविन समिति बनाउनु पर्नेमासमेत उनको जोड रहेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा भएको घटनाका बारेमा अध्यक्ष प्रचण्डलाई पनि जानकारी गराईसकिएको मेयर ढकालले बताए ।