काठमाडौं, १३ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आजबाट झनै नयाँ मोडमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित् गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाल समूहले बैठक सुचारु गरेको हो ।
दाहाल–नेपाल समूहले सञ्चालन गरेको आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमसहित २९ जना सदस्य सहभागी थिए । बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश साहले दिएको जानकारीअनुसार बैठकमा अधिकांश सदस्यहरुले अध्यक्ष ओलीले एकतर्फी बैठक स्थगित गर्नु उचित नभएको धारणा राखेका थिए । र, अब स्थायी कमिटीको बैठक यसरी सधैं स्थगित् गर्न नहुनेपनि उनीहरुको धारणा थियो ।
आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमले अध्यक्षद्धय ओली र दाहाललाई बुझाएको आफुनो ६ बुँदे प्रस्तावको बारेमा व्याख्या गरेका थिए । उनले आफू ओलीको पक्षमा नभएको समेत प्रष्टीकरण दिएका थिए । तर, कुनैपनि हालतमा पार्टीलाई फुटबाट जोगाउनुपर्ने उनको तर्क थियो । र, आफू त्यसकै लागि लागिपरेको पनि गौतमले विश्वास दिलाएका थिए । file photo